Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पहिले दलित भनी तर्कनेहरू अहिले नमस्कार गर्दै नजिकिन्छन् : टेकु नेपाली

पहिले दलित भनी तर्कनेहरू अहिले नमस्कार गर्दै नजिकिन्छन् : टेकु नेपाली

पहिले दलित भनी तर्कनेहरू अहिले नमस्कार गर्दै नजिकिन्छन् : टेकु नेपाली
images

तारा वाग्ले । नेकपा एमालेको दशौँ केन्द्रीय सल्लाहकार परिषद्को सचिवालय सदस्य टेकु नेपाली दोस्रो संविधानसभा निर्वाचन २०७० मा नेकपा एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो। गत बैशाखमा गठन गरिएको सचिवालय सदस्यमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नुभएकी नेपाली राजनीतिको साथै महिला र दलित अधिकार तथा समाजसेवाको क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ।  विद्यार्थी जीवनबाटै राजनीतिमा होमिनुभएकी टेकुले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ।

images
images

शिक्षण पेशा र राजनीतिलाई सँगसँगै अघि बढाउनुभएकी टेकुले अहिले भने शिक्षण पेशाबाट अवकाश लिइ राजनीतिमा आफ्नो जीवन समर्पित गर्नुभएको छ। छुवाछुत र विभेदले ग्रस्त समाजबाट अधिकार र समानताको आवाज उठाउने क्रममा पुर्‍याएको योगदानको कदर स्वरुप उहाँले विभिन्न मानसम्मान पनि पाउनुभएको छ।  राजनीतिको माध्यमबाट राज्यको निर्णायक तहमा  पुगी महिला तथा दलितको हक अधिकारको लागि निरन्तर आवाज उठाउँदै आउनुभएकी टेकुले विभिन्न चरणमा भोगेका अनुभवः

छुवाछुतको भेदभाव चिर्न बुबाले गर्नुभयो कर्मकाण्ड

मेरो बुबा इन्डियाको आर्मी हुनुहुन्थ्यो। दलित अधिकारको रक्षाको लागि बुबाले पहिलेदेखि आवाज उठाउँदै आएको देखेकी थिएँ। त्यसबेला दलितले संस्कृत पढ्न हुँदैन र कर्मकाण्ड गर्न हुँदैन भन्ने  सोच थियो। तर मेरो  बुबाले यस्तो विभेदविरुद्ध चुनौति दिन भारतको बनारस गएर संस्कृत पढ्नुभएको थियो। पछि नेपाल आएपछि दलितका घरमा  न्वारान तथा मृत्यु संकार, सत्य नारायणको पूजा, सप्ताह, कर्मकाण्ड जस्ता विभिन्न धार्मिक कार्यहरू गर्नुभएको थियो। साथै उहाँले छुवाछुत र भेदभाव विरुद्ध विभिन्न चेतनामूलक सामाजिक कार्य गर्नुभएको थियो।

त्यति नै बेला उहाँ नेपाली कांग्रेसमा आबद्ध रही दलित अधिकार सुनिश्चित  गराउन तथा छुवाछुतको विभेद अन्त्य गर्न तल्लिन हुनुहुन्थ्यो। उहाँको समाजसेवा र निष्ठाको राजनीति देखेर मलाई राजनीति र समाजसेवाको क्षेत्रमा केही उदाहरणीय काम गर्ने प्रेरणा मिलेको हो। मेरो बुवा शिक्षित र अधिकारप्रति सचेत भएकै कारण हामी दलित परिवारमा जन्मिएपनि विभेदको कारण पिल्सिएर बस्नु परेन। उहाँले म लगायत मेरा ३ जना दाजुभाइलाई पढाउनुभयो।

अहिले हामीहरू विभिन्न क्षेत्रमा स्थापित भएका छौँ।  मेरो बुबाको प्रेरणाको कारण मलाई पनि आफ्नो व्यक्तित्व विकास गर्न र सामाजिक कार्यमा लाग्न कुनै अवरोध भएन। म सामाजिक विभेदको चपेटामा परी डराएर बसेको भए अहिले यो स्थानमा आउन सक्दिनथेँ। तर यो स्थानमा आउन पनि अनेकौं कष्ट, चुनौति, विभेद तथा समस्याको सामना गर्नुपरेको छ।

सिंगो काँक्रो छोइन्थेन, काटेपछि छोइन्थ्यो

पहिले जतिसुकै शिक्षित परिवार भएपनि महिलालाई परिवारले निर्वाध रुपले घरबाट बाहिर निस्कन दिदैनथ्यो। समाजले त कोही महिला घरबाहिर गएर केही गर्ने इच्छा मात्र देखाउँदा पनि नराम्रो दृष्टिले हेर्थ्यो। महिला आर्फैमा योग्य नै किन नहोस् उसलाई उसको छोरोले र भाईले समेत रोकतोक गरेको हुन्थ्यो। एक महिला आफ्नो इच्छाले केही गर्न पाउँदिनथी। म पनि त्यही समाजबाट संघर्ष गर्दै राजनीतिमा होमिएकी हुँ। मेरो परिवारले मलाई मेरो कार्यक्षेत्रमा कुनै अवरोध नगरेपनि समाजमा भने विभिन्न चुनौतिसँग लड्नुपरेको छ।

एकातिर छुवाछुतको विभेद थियो भने अर्कोतिर महिला भएको कारण भोग्नुपर्ने उल्झन। पहिले त हामीले सार्वजानिक धाराको पानी पनि अरुसँग हात थापेर अलक्क खानुपर्थ्यो । हामीले ल्याएको काँक्रो सग्लो हुँदा चोखो हुन्थ्यो काटेपछि छोईन्थ्यो। टेबलमा काँक्रो छ भने मैले उठाएर सिङ्गै  दिंदा सबैले खान्थे भने काटेर दिएँ भने छोइयो भनेर कसैले खान्थेन। स्कूलमा पढ्दा यस्तो विभेद खेप्नुपर्यो। कति विभेद खेप्नुपर्‍यो भनिसाध्य छैन।  तर अहिले भने यस्तो छैन। पहिले मलाई देखेर छोइन्छकी भनेर तर्कनेहरू अहिले नमस्कार गर्दै आउँछन्। पहिले मैले छोएको नखानेहरू अहिले मैले पकाएको खाउँ भन्छन्। परिवर्तन आफैबाट शुरु गर्नुपर्दो रहेछ।

शिक्षण पेशाबाट अवकाश लिइ राजनीतिमा

म स्याङजाको मनकामना गाविस वडा नं ६ तर्लेमा जन्मिएकी   हुँ। मैले चैतन्य भवानी प्राविमा ५ कक्षासम्म पढेपछि  तत्कालीन किचनास गाविस  गाविस वडा नं ६ बिरुवा स्थित नवज्योति मावि बाट एसएलसी उर्तिण गरेँ। पछि पोखरा आएर पिएन क्याम्पसबाट प्रविणता प्रमाणपत्र तहसम्म पढेँ। मेरो स्वभाव परिवर्तनमुखी र आफ्नो अधिकारप्रति सचेत , निर्भिक तथा निडर थियो। समाजमा हुने विभेदका विरुद्ध खुलेर लाग्ने स्वभाव भएकोले राजनीतिमा मेरो रुचि सानैदेखि बढ्दै गएको हो।

व्यक्तित्व विकास तथा जीवनचर्याको लागि शिक्षण पेशा अँगाले पनि सानैदेखिको राजनीतिको लगावले शिक्षा क्षेत्रबाट राजनीतिक क्षेत्रमा डोर्यायो। नवज्योति मावि मा पढ्दा २०२८ सालमा म प्रगतिशील विद्यार्थी संगठनको उपाध्यक्ष थिएँ। त्यतिबेला विद्यार्थीको हकहित तथा दलित अधिकारको लागि हाम्रो संगठनले विभिन्न प्रयास गरेको थियो। त्यसपछि २०३१ साल पुस देखि नेकपा मार्क्सवादी पार्टीको साधारण सदस्यका रुपमा मेरो राजनीति क्षेत्रको यात्रा शुरु भएको हो।

मैले राजनीतिमा आवद्ध भएर संगठनिक काममा साथै सरकारी शिक्षकको रुपमा पढाउने काम पनि गरेकी थिएँ। एसएलसी सकेपछि शिक्षण पेशामा रहेकै बेला नेपाल २०३३ सालमा राष्ट्रिय शिक्षक संगठनमा आबद्ध भएँ। मेरा गुरु मेरो विद्यालयका प्रधानअध्यापक टंकप्रसाद पोखरेलले  मलाई संगठित राजनीतिमा लाग्न प्रेरित गर्नुभएको हो। 

पछि २०३९ सालमा अखिल नेपाल महिला संघमा आबद्ध भएँ। अनेससंघको जिल्ला सहसचिव,सचिव तथा अध्यक्ष हुँदै पार्टीको महिला विभाग सदस्य भएर काम गरेँ। विभिन्न सँगठनमा आवद्ध भई काम गर्ने क्रममा गाउँ कमिटि जिल्ला कमिटि हुँदै विभिन्न तहको जिम्मेवारी पूरा गर्ने अवसर पाएकी छु। मैले उत्पीडित क्षेत्रका समुदायको हितको लागि क्रियाशील हुने क्रममा  मुक्ति समाजको कन्द्रीय उपाध्यक्ष तथा सोही संगठनको महिला विभाग प्रमुख भएर १२ वर्षसम्म सेवा गरेँ। २०४७ सालदेखि पार्टीको सँगठित सदस्य भएर काम गर्न थालेकी हुँ।

पार्टीको महिला विभाग प्रमुख भएर विभिन्न जिम्मेवारी पूरा गरेँ।  हाल नेकपा एमालेको केन्द्रीय तहसम्मको जिम्मेवारीसम्म पुगेको छ। मैले ३३ वर्ष सम्म शिक्षण पेशा गरेपछि त्यहाँबाट अवकाश लिई सम्पूर्ण समय पार्टीको जिम्मेवारी निर्वाहमा लगाएकी छु। मेरो कामको मूल्याकंन गर्दै पार्टीले मलाइ दोस्रो संविधानसभाको चुनावमा उमेदवार वनाएपछि  समानुपातिकबाट संविधानसभा सदस्यमा निर्वाचित भएँ। यसअघि म राष्ट्रिय दलित आयोगमा पनि आबद्ध थिएँ। विद्यार्थी जीवनकालदेखि शुरु भएको मेरो राजनीतिक यात्रा देशको कानुन निर्माण गर्ने तहसम्म पुग्यो।

संविधानसभाको विद्यायन समिति सदस्य जस्तो महत्वपूर्ण भूमिकामा रहेर काम गर्ने अवसर पाएँ। महिला तथा दलित अधिकारको लागि कानुन बनाउने ठाउँसम्म पुग्ने मौका मिल्यो।  अहिले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को सचिवालय सदस्यको भूमिकामा छु। मलाई पार्टीले मेरो लगनशिलता, निष्ठा,दक्षता तथा इमान्दारिता देखेर यो जिम्मेवारी दिएको छ। यो जिम्मेवारी पनि इमान्दारितापूर्वक निर्वाह गर्ने छु।

गाउँ फर्किएर शिक्षामा सुधार

संविधानसभाको कार्यकाल सकेर गाउँ फर्किएपछि म पुनः शिक्षा क्षेत्रमा क्रियाशील रहेँ। मैले अध्ययन गरेको आफ्नै गाउँठाउँको विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष भएर ३ वर्ष  सेवा गरेँ। मैले पढाएका विद्यार्थी हरू अहिले यसै विद्यालयका प्राध्यापक भएका छन्। जहाँ रहँदा मैले कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङको पढाइमा सरकारी छात्रवृतिको कोटा पार्न सफल भएँ। सो छात्रवृतिको कारण विपन्न र पिछडिएका दलित परिवारका बालबालिकाले इन्जिनियरिङको अध्ययन गर्ने मौका पाएका छन्। यसको साथै विद्यालयको भौतिक संरचनाको निर्माणको लागि पनि विभिन्न प्रयास गरेकी छु। 

शिक्षा नै परिवर्तन, विकास र सशक्तिकरणको माध्यम हो। अहिलेका बालबालिकाले पहिलेजस्तो अवस्था भोग्नु परेको छैन। शिक्षामा धेरै अवसर भित्रिएका छन्। यसको उपयोग गरेर विभिन्न क्षेत्रमा स्थापित हुन सकेका छन्। तर केही बालबालिकाले सूचना प्रविधिको गलत उपयोग गरेका कारण पहिलेका विद्यार्थीमा जस्तो अनुशासन र लगनशीलता देखिदैन। अभिभावकको नियन्त्रणमा रहेका बालबालिका राम्रो पढ्ने र पछि ठूलो स्थानसम्म पुग्न सकेको देखिन्छ भने बढि स्वतन्त्रता पाएका बालबालिकाले शिक्षा चेतना तथा व्यक्तित्व विकासमा त्यति ध्यान नदिएको देखिन्छ। यसतर्फ अभिभावकहरू सचेत हुन आवश्यक छ।

समाज नै मेरो परिवार

म समाजसेवा र राजनीतिमा लागेसँगै आफ्नो कर्तव्य र जिम्मेवारी प्रति सधैँ अडिग रहेँ। शुरुमा विद्यालयमा अध्यापन गराउँदादेखि नै विभिन्न सामाजिक कृयाकलापमा व्यस्त हुन्थेँ। एक प्रकारले मेरो सबै जीवन नै समाजको लागि नै समर्पित थियो। मैले आफ्नो करियरको साथै समाजको विकासमा आफ्नो ध्यान केन्द्रित गरेको हुँदा बिहेबारी गर्नेतर्फ पनि खासै चासो रहेन। बिहे गरेपछि कार्यक्षेत्रमा अवरोध आउने हो कि भन्ने डरले पनि मलाई पारिवारिक बन्धनमा परिन।

मलाई आफ्नो छुट्टै परिवार हुनुपर्छ भन्ने पनि कहिल्यै लागेन किनकी मेरो समाज नै मेरो परिवार थियो। जतिबेलादेखि म सामाजिक कार्यमा सक्रिय रहन थालेँ त्यतिबेला देखि नै आफ्नो समाज र समुदायका हरेक व्यक्ति आफ्नै परिवारको सदस्य हो जस्तो लाग्छ। अहिले म मेरा दाजुभाइहरूसँग बसेको छु। तर अधिकांश समय पार्टीको काम र सामाजिक कृयाकलापमा नै बित्ने गरेको छ। मलाई यो स्थानसम्म पुर्‍याउन मेरो परिवारका सबै सदस्यहरू खासगरी कान्छो भाइको भूमिका र सहयोग निकै महत्वपूर्ण छ। म संविधानसभाको सदस्य हुँदा मेरा भदा र बुहारीले पनि निकै सहयोग गरेका थिए।

मैले आफ्नो समुदायका मात्र नभइ गैरदलित समुदायको पनि घेरै सहयोग पाएकी छु। साथै पद्मा अर्याल सीमा क्षेत्रीले मलाई यो क्षेत्रमा आउँदा धेरै सहयोग गर्नुभयो। परिवार, समाज तथा सहकर्मीको साथ र सहयोगले मलाई कार्यक्षेत्रमा निरन्तर लाग्ने उर्जा मिलेको छ।

विभेदबाट मुक्त हुने आधारः नेतृत्व

जो वर्ग विभेदमा परेका छन् त्यस्ता वर्गको अधिकार सुनिश्चित गराउन तथा विभेदको अन्त्य गर्न सो वर्गको सशक्तीकरण गर्नु अति आवश्यक हुन्छ। जुन वर्ग राज्यको मूल प्रवाहमा समेटिएको हुन्छ सो वर्गले निकै कम मात्र विभेद खेप्नुपरेको हुन्छ। किनभने कुनै पनि ठाउँको निर्णायक तहमा पुग्ने वित्तिकै उस विरुद्ध भएका सबै विभेद हटेर जाँदा रहेछन्। मेरो हकमा पनि यही भयो। म संविधानसभाको सदस्य भएसँगै मलाई पनि आफ्नो समुदायको साथै आफ्नो कार्यक्षेत्र भित्रको हरेक काममा नेतृत्व गर्ने अवसर प्राप्त भयो।

त्यसपछि आफ्नो उद्देश्य र लक्ष्यप्रति निरन्तर लाग्न उत्प्रेरित गरेको छ। भेदभावमा परेको वर्ग नेतृत्व तहमा नपुगेसम्म विभेदको अन्त्य हुन सक्दैन। कुनै पनि पिछडिएको वर्गका सबैजना एकैपटक नेतृत्वमा पुग्न नसकेपनि उसको प्रतिनिधिको रुपमा जो नीति निर्माणको तहमा पुग्छ उसले आफ्नो वर्गको अधिकार र सशक्तिकरणका लागि निरन्तर संघर्ष गरिरहनु पर्छ। पछि पालैपालो सबैले अवसर पाउँदै जान्छन् र सबैको समुचित विकास हुन्छ। म पनि यस स्थान सम्म आएर पुर्याएको योगदान स्वरुप दलित महिला संघ, दलित महिला केन्द्र, समता फाउन्डेसन, मोतिदेवी स्मृति केन्द्र लगाएतका संस्थाले सम्मान गरेका छन्।

मेरो जीवनी प्रकाशित गरेका छन्। उहाँहरूले दिएको हौसलाको कारण महिला र दलित आन्दोलनमा लाग्न र सफल हुन मद्दत मिलेको छ , यसको लागि संस्थाप्रति सधैँ आभारी रहने छु।  महिला दलित तथा पिछडिएको वर्गको उत्थानको लागि राजनीतिक तहबाटै प्रयास थालिनुपर्छ र सो क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले त्यसमा साथ दिनु पनि उत्तिकै जरुरी छ।

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - ०८:२६:३७ बजे

स्वतन्त्र समाचार Independent News Service (INS)

स्वतन्त्र समाचार नेपालमा गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन गरी निःशुल्क वितरण गर्ने एक समाचार एजेन्सी हो। यस एजेन्सीको समाचार इच्छाकामना न्युजले पनि प्रकाशन गर्ने गरेको छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology