कुरिनटार । त्यसो त चितवन भन्ने बित्तिकै धेरैले तराईको समथर भू–भाग भएको स्थानहरु भएको स्थान भनेर चिन्छन् । धेरैलाई थाहा नहुन सक्छ भौगोलिक हिसाबले विकट पहाडी भूभागहरु समेत चितवनमा छ भनेर । यसैले जिल्लाका ७ वटा स्थानीय तह मध्य एउटै मात्र गाउँपालिकाको रुपमा इच्छाकामना गाउँपालिका बनाईएको हो । साविकको ४ वटा पहाडी गाविसहरुलाई समेटेर बनाईएको यो गाउँपालिका भौगोलिक हिसाबले पहाडै पहाडले घेरिएको छ । विकासका सबै सूचांकमा पछि परेको यो क्षेत्र राजनैतिक हिसाबले पनि निकै पछि परेको छ ।
यसैले पनि आजसम्मको इतिहास हेर्दा चितवनको राजनितिमा यो भूगोलबाट कोहि पनि सांसद बनेको देखिदैन । यद्यपी अब भने चितवनको पहाडले पनि पहिलो पटक सांसद पाउन सक्ने सम्भावना बढेर गएको छ। जसको प्रतिनिधित्व गर्दै पहिलो पटक संसद छिरेर इतिहास बदल्ने अभियानमा लागिपरेका छन् चितवन इच्छाकामना गाउँपालिका वडा नं. ५ मुग्लिन निवासी कृष्ण सिलवाल । उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मंसिर ४ गते हुन गैरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ को ‘क’ मा सांसदको उम्मेद्वार बनाएको छ ।
वि.सं. २०२५ साल असार ८ गते तात्कालीन दारेचोक गाविसको बेलडाडामा जन्मिएका कृष्णप्रसाद सिलवाल सानै देखि राजनितिमा लागेका हुन्। ११ वर्षको उमेरमै २०३६ सालमा भएको बहुदलीय ब्यबस्थाको माग गर्दै चैत्र २४ गते आयोजना भएको नेपाल बन्दमा आफैलाई पढाउने गुरु टिकाराम लामिछाने र बिष्णु सापकोटाको निर्देशनमा बन्द सफल बनाउन रोडमा गारो लगाएर राजनैतिक आन्दोलनमा सहभागी हुन उनले सुरु गरेका हुन्। सिलवाल त्यो दिनको स्मरण गर्दै भन्छन् ‘सो दिन शिक्षक टिकाराम भट्टराईलाई प्रहरीले गिरफ्तार गरेर जेल हाल्यो भने हामी लाई बच्चा भएकोले छोड्यो’ ।
त्यसपछि विद्यालय स्तरमै उनी अनेरास्ववियुमा आबद्ध भएका थिए । गोरखाको मकैसिङमा १० कक्षा पढ्दै गर्दा बिध्यालयबाट स्वबियुको बर्खास्तीे विरुद्ध लड्दा उनी लखेटिनु परेको थियो । यसरी पढ्दै गर्दा लखेटिनु परेपछि भागेर चितवनको बालकुमारी माबि नारायणगढमा भर्ना भएर विद्यालय शिक्षा पुरा गरे।
यसरी समाजमा रहेकोे अन्यायको बिरुद्ध बोल्दा उग्रवामपन्थी भनेर तात्कालिन पन्चायतले २०४२ सालमा उनका राजनैतिक गुरुहरु शिवहरी सिलवाल र राम प्रसाद त्रिपाठी सँगै उनलाई पनि प्रहरी लगाएर गिरफ्तार ग¥यो र ९ दिनसम्म मरणासन्न हुने गरि यातना दिएर छोडेका थिए। त्यतिबेलाको हिरासत जिवनको स्मरण गर्दैे आफुले जिवन त्यतिबेलै सकेको महशुस गरेको तर दोस्रो जीवन पाउन सफल भएको बताए।
यस्तै आन्दोलनकै क्रममा पन्चायत विरुद्ध भएको २०४६ सालको वृहत जनआन्दोलनमा समेत उनको सक्रिय सहभागिता रह्यो। २०४६ साल चैत्र २६ गते बहुदलीय ब्यबस्थ्या घोषणा हुदा मुग्लिङमा बामपंथीको तर्फबाट बोल्ने मुख्य वक्ता नै उनी थिए।
उनले भने ‘चैत २७ गतेको खुशीयाली सभालाई मैले नै सम्बोधन गरेको थिए, त्यसपछि बल्ल मलाई पार्टीले २०४७ सालमा पार्टी सदस्यता दियो’ ।
पार्टी सदस्यता पाएपछि गाउँ कमिटीको विभिन्न जिम्मेवारीहरु सम्हाल्दै २०५० सालमा नेकपा एमालेको चितवन जिल्ला कमिटि सदस्यमा निर्वाचित भए। त्यहि बेला देखि नै उनी कबिलास, दाहाखानी, दारेचोक, चण्डिभन्ज्याङ लगायतका चितवनको पहाडी इलाकाहरुमा पार्टी संगठनको विस्तारमा लागे।
उनको पार्टी प्रतिको लगाव देखेरै २०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा पार्टीले उनलाई तात्कालिन दारेचोक गाबिसको उपाध्यक्षमा उम्मेद्वार बनायो। सो निर्वाचनमा दुर्भाग्यले अध्यक्षमा जित हुन सकेन तर उपाध्यक्षमा भने उनले जित हासिल गरे। जित पश्चात २०५४ सालदेखि २०६० सालसम्म आफुले निस्कलङ्क पार्टी र जनताको पक्षमा काम गरेको उनले बताए। उनी हाल पार्टीको इच्छाकामना गाउँकमिटि अध्यक्षको जिम्मेवारीमा रहेका छन्। उनैको नेतृत्वमा दोस्रो स्थानीय तह निर्वाचनमा इच्छाकामनामा एमालेले दुई तिहाई भन्दा बढि पदमा जित हासिल गर्न सफल पनि भयो।
उनले कानुनमा स्नातकसम्म अध्ययन गरि अधिवक्ता भएता पनि व्यावसाय नगरी कन आजसम्म पहाडका गाउका नागरीकहरुलाई आफ्नो क्षमताले भ्याए सम्मको कानुनी सल्लाह लेखापढी निःशुल्क रुपमा उपलब्ध गराउदै आएका छन्।
समाज सेवा गर्नुलाई आफ्नो धर्म हो भन्ने मुल मन्त्र लिएर हिडेका उनले आजसम्म कसैको एक रुपैयाँ पनि तल माथी नगरेको र कहिल्यै नगर्ने प्रण गर्छन ।
यस्तै आफुले चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ बाट उम्मेद्वारी दिईरहदा पछिल्लो समय देशको राजनीतिमा आएको बिकृतीलाई सच्याउन लागिपर्ने उनले बताए । साथै आफु पहाडको कन्दरामा जन्मेको यहि ठाउँको भुमिपुत्रको सामान्य परिवारको सामान्य नागरिककोे रुपमा जन्मेर पनि सामान्य तरिकाले चुनाब जितेर इमान्दारी पुर्बक लाग्ने जो कोहिले चुनाव लड्न सक्छ र जित्न सक्छ भन्ने मान्यता स्थापित गरि दोस्रो पुस्तालाई उत्प्रेणा बन्ने लक्ष्यका साथ जितको लागि चुनावी मैदान होमिएको बताए।
कुराकानीको बिट मार्दै उनले भने ‘मेरो लक्ष्य भनेकै यस भुगोलका अल्पसङख्यक चेपाङ, जनजाति, दलित सबै मानिसहरुलाइ नागरिक भएर बाच्न सक्षम बनाउनु नै हो यसैले शिक्षा, स्वास्थ ,स्वरोजगारमा पहुँच पुर्याउन सक्ने नागरिक बनाउन सेवकको रुपमा मेरो जीवन समर्पित गर्दछु’ ।