Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गाउँ रित्तिए, बजार भरिए

गाउँ रित्तिए, बजार भरिए

रासस

२६, फाल्गुण २०७९
गाउँ रित्तिए, बजार भरिए
images

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए ।

images
images

स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ । ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ ।

अहिले जिल्लाको निसीखोलाको निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयतका ठाउँ बजारमा परिणत हुँदैछन् । गाउँमा विस्तारै विकासले गति लिँदै गए पनि गाउँ छाड्नेहरू रोकिन सकेका छैनन् । विगतमा सामान्य विकाससमेत नहुँदा गाउँमै बस्नेहरू अहिले बजार झर्न थालेपछि गाउँ रित्तिँदै छन् भने बजार भरिँदै गएका छन् । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोलाबाट पछिल्लो समय बसाइँसराइ गर्ने बढेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए ।

पहिले गाउँमा सामान्य सुविधा नहुँदा स्थानीय बाध्यताले बजार झर्ने गरेको भन्दै अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने संस्कृति बन्दै गएको उनले बताए । खासगरी तमानखोलाबाट बुर्तिबाङ बजार झर्नेको सङ्ख्या ठूलो छ । त्योसँगै पोखरा, काठमाडौं, बुटवलका ठाउँमा स्थानीय बसाइँसराइ गरी गाउँ छाड्ने गरेको अध्यक्ष बुढामगरको भनाइ छ । उनले बसाइँसराइ रोक्नका लागि स्थानीयलाई न्यूनतम विकास र आयआर्जनसँग जोड्ने गरी कामको सुरुआत गरेको बताए ।

“बसाइँसराइ गर्ने मुख्य कारण त गाउँमा राम्रो सेवा सुविधा नहुनु नै हो, तर पहिलेको तुलनामा अहिले हरेक गाउँमा विकास पुगेको छ, सामान्य नागरिक विकाससँग जोडिएको छ । अहिलेको अवस्था हेर्दा हुँदा खानेभन्दा हुनेखानेहरू नै बजार झरेका छन्”, अध्यक्ष बुढामगरले भने, “अहिलेका मान्छेहरूले विदेशमै गएर भए पनि दुई–चार पैसा कमाउन थाले, सहरबजार बुझे त्यही भएर बजार झर्न थाले, बजार झर्ने त अहिले ‘फेशन’जस्तो भइसक्यो ।”

ग्रामीण भेगबाट स्थानीय ठूला सहरमात्रै होइन, भर्खरै विस्तार हुँदै गरेका बजारमा पनि बसाइँसराइ गरेर आउन थालेका छन् । निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजारमा दिनदिनै बसाइँसराइ गरी आउनेको सङ्ख्या बढेको छ । बागलुङमा सबैभन्दा बढी गलकोटमा बसाइँसराइ गर्नेको सङ्ख्या ठूलो छ । यहाँका थुप्रै गाउँ सुनसान बन्दै गएको गलकोटन नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार गलकोट नगरपालिका–१, २, ५, ६, ७ र ८ बाट बसाइँसराइ हरेक दिन बढ्दै गएको छ । खासगरी क्षेत्री र ब्राह्मण समुदाय बढी भएको गाउँबाट बसाइँसराइ बढी हुने गरेको प्रवक्ता भण्डारीले बताए । यहाँका अधिकांश युवा जापान रहेका छन् भने केही अमेरिका र केही खाडी मुलुकमा रहेको भण्डारीको भनाइ छ । विकासको मुख्य मेरुदण्ड शिक्षा र स्वास्थ्य भएको भन्दै नगरपालिकाले यी दुई क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

भण्डारी भन्छन्, “हामीहरूले गाउँमा विकास गरिराखेका छौँ, स्थानीय गाउँ छाड्दै बजार झरिरहेका छन्, दलित र जनजाति बसोबास भएको बस्तीमा बसाइँसराइ कम छ भने ब्राह्मण र क्षेत्री भएको गाउँ रित्तिनै लागेको छ, जनताति र दलित समुदाय भएको बस्ती बाक्लो उनीहरू गाउँमै रमाएर बस्न चाहन्छन्, ब्राह्मण र क्षेत्री विदेश जाने, कमाउने र सहरबजारमा घर बनाउने गर्छन्, यहाँका अधिकांश मान्छे पोखरा, चितवन र काठमाडौं छन्, केहीले यही गलकोट बजारमा घर बनाएर बस्छन् ।”

गलकोट नगरपालिका–७ टोकरीगाउँ, बरेखानीलगायतका गाउँ अहिले सुनसान छन् । गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ । गाउँमा भएका घर जीर्ण बन्दै गएका छन् । घर र खेतीयोग्य जमिन प्रयोग गर्ने कोही नभएको स्थानीय विष्णु थापाले बताए । विदेशमा राम्रो कमाइ हुने हुँदा १० कक्षा पास गरेर युवाहरू विदेशिने र विदेशबाट फर्किएर परिवारलाई बजार झार्ने गरेको सुनाए ।

स्थानीय चन्द्रबहादुर सुनारले सरकारले गाउँमा गुणस्तरीय सेवा नपुर्‍याएसम्म बसाइँसराइ नरोकिने बताए । पछिल्लो केही वर्षयता गाउँ छाड्नेको सङ्ख्या दोब्बर÷तेब्बरले बढेको उनको भनाइ छ । बसाइँसराइले गाउँ रित्तिने र बजार भरिने हुँदा उत्पादनमा समेत कमी आउने उनी बताउँछन् । सुनारले अहिले गाउँका खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको र खोलाका बगरमा ठूलाठूला घर भवन बन्ने गरेको बताए ।

उनी भन्छन्, “गाउँ त खाली भइसक्यो, बजारमा बस्नेले उत्पादन गर्दैनन्, उत्पादन गर्ने त गाउँले नै हो, गाउँले जति बजारिया बन्न थाले, धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिए, अब कसरी समृद्ध हुन्छ हाम्रो देश, गाउँमा अहिले हेर्नुहुन्छ भने युवा कोही छैन, घर सबै खाली छन्, गाउँ अहिले रमाइलो छैन, उराठिलो बनेको छ ।” 

images
प्रकाशित मिति :फाल्गुण २६, २०७९ शुक्रवार - ०८:४०:१५ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology