Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

झापामा पानखेतीः १५ वर्षसम्म दर्बिलो आम्दानी

झापामा पानखेतीः १५ वर्षसम्म दर्बिलो आम्दानी

images

इच्छाकामना न्युज

१, फाल्गुण २०७८
झापामा पानखेतीः १५ वर्षसम्म दर्बिलो आम्दानी
images

बनियानी, १ फागुन । झापा अर्जुनधाराका कृषक सामूहिक पानखेतीमा जुटेका छन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु गरिएको समूहका सदस्य कृषक दिनबन्धु पोखरेलले जानकारी दिनुभयो ।

“नेपालमा भारतबाट पानको पात आयात हुन्छ”, उहाँले भन्नुभयो, “आयत प्रतिस्थापन गर्न समूह नै बनाएर व्यावसायिक पानखेती सुरु गरेका हौँ ।” समूहले भारतको कोलकताबाट ‘बङ्गाली जाजी’ जातको पानको बिरुवा ल्याएर सो खेती सुरुआत गरेको हो । समूहका सदस्य गोपाल शिवाकोटीका अनुसार नेपालमा आयात हुने पानमध्ये ८० प्रतिशत पान यही जातको रहेको छ । “आयात धेरै हुने भएकाले यही जातको पानखेती गर्न थालिएको हो”, उहाँले भन्नुभयो, “पान आयातलाई घटाउने यो हाम्रो थालनी मात्र हो ।”

आफूहरुले सुरु गरेको पानखेती ठूलो नभए पनि आउने पुस्ता र पानखेती गर्न चाहनेका लागि उपयोगी हुने समूहका अर्का सदस्य कृषक सन्तबहादुर तामाङले जानकारी दिनुभयो । “यसबाट अरुले सिक्ने अवसर मिल्छ”, उहाँले भन्नुभयो, “अरुलाई समेत पानखेतीमा जोड्नसके पान खरिदमा विदेशिइरहेको ठूलो धनराशि बचत हुन्छ ।”

अन्य खेतीको तुलनामा पानखेती गर्दा सुरुमा अलि बढी नै लगानी हुने भएकाले पानखेतीका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्रलगायतका सरोकारवाला निकायले पहलकदमी गर्नुपर्नेमा आबद्ध कृषकको जोड छ । सो कृषक समूहले सुरु गरेको पानखेतीबाट यतिबेला धमाधम उत्पादन हुन थालेको छ । रु १५ लाख लगानीमा सुरु गरेको खेतीबाट मासिक रु एक लाख आम्दानी भइरहेको छ । बिरुवा लगाएको छ महिनाबाटै उत्पादन लिन सकिने पानखेती एकपटक लगाएपछि १५ वर्षसम्म आम्दानी लिन सकिने समूहका सदस्य त्रिलोचन खरेलले जानकारी दिनुभयो ।

झापा मासिक चार लाख थान पानको पातको माग रहेको उहाँले बताउनुभयो । आफूहरुले गर्दै आएको खेतीबाट ८० हजार थान मात्र पात उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । “आन्तरिक माग धेरै रहेकाले खेती विस्तार गर्ने सोच बनाएका छौँ”, उहाँले भन्नुभयो, “बजारको अभाव छैन, व्यापारी खेतमै आएर अढाइ रुपैयाँका दरले पात किनेर लान्छन् ।”

अन्य बालीको तुलनामा राम्रो प्रतिफल प्राप्त हुने पानखेतीमा सरोकारवाला निकायले ध्यान दिनसके आयात प्रतिस्थापनसँगै कृषकका लागि दर्बिलो आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - ०८:३१:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology