पवित्रा पराजुली, नवलपुर, २९ माघ । नवलपरासीको गैँडाकोट नगरपालिकामा आर्थिक अवस्था कमजोर भएकै कारण थुप्रै बालबालिका शिक्षाबाट बञ्चित भएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकाले आफ्नो पढाइ पुरा गर्न पाएका छैनन् ।
आमा बुबा नै सम्पर्कमा नभएका कारण ठुलीआमाको घमा बस्दै आउनुभएका गैँडाकोट नगरपालिका वडा नम्बर ९ का अमृत दमाईले कक्षा एकमा पढ्दा पढ्दै बिद्यालय छोड्नु परेको छ ।
पढ्ने इच्छा भएपनि आर्थिक अभावका कारण पढ्न नसकिएको उहाँको भनाइ छ । तर बालबालिकाको क्षेत्रमा बजेट तथा कार्यक्रम बनाउने सन्दर्भमा नगरपालिका र वडा कार्यालयहरुबीचकै मतभिन्नता भेटिन्छ ।गैँडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले दुईवर्ष यता बालबालिकाको लागि उल्लेख्य काम नभएको बताउनुभयो ।
गैँडाकोट १५ मा, ५ वर्षमा ३ करोड २३ लाख बढि बजेट विनियोजनभएपनि बालबालिकाको क्षेत्रमा वडाले ५० हजार मात्रै खर्च गरेको छ । कतिपय वडाले बालबालिकाको नाममा बजेट छुट्याउने गरेका छन् ।
वडा नम्बर १३ का वडा अध्यक्ष पदमलाल पौडेलले वडामा आएको बजेट बाट २० लाख रुपैयाँ बालबालिकाको लागि छुट्याएको र विद्यालयमा भवन निर्माण, शौचालय निर्माण, लगायतका शीर्षकमा खर्च भएको बताउनुभयो । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले भने वडाका जनप्रतिनिधीले चासो नदिएका कारण नगरलाई बालमैत्री बनाउन नसकेको बताउनुभयो ।
चालु आर्थिक वर्षमा नगरस्तरीय बजेट अन्तर्गत करिब साढे ११ लाख रकम बालबालिकाको क्षेत्रमा विनियोजन भएको छ । तर त्यो बजेट कहाँ र कसरी खर्च भईरहेको छ, नगरपालिकालाई कुनै जानकारी छैन ।