Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हिमपातसँगै चिसोले दर्जनौ बाख्रा मरेको आशंका, छैन चेक जाँचको व्यवस्था

हिमपातसँगै चिसोले दर्जनौ बाख्रा मरेको आशंका, छैन चेक जाँचको व्यवस्था

न्युज कारखाना

२७, माघ २०७८
हिमपातसँगै चिसोले दर्जनौ बाख्रा मरेको आशंका, छैन चेक जाँचको व्यवस्था
images

दिलकुमार लिम्बू, ताप्लेजुङ, २७ माघ । ताप्लेजुङको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फलेमा दर्जनौ बाख्रा चिसोले मरेका छन् । पछिल्लो समय निरन्तरको हिमपातसँगै बढेको चिसोले फलेका स्थानीयले पालेका बाख्रा मरेका हुन् ।

images
images

हिमपातको क्रमसँगै पछिल्लो दुई सातायता जिल्लाको उच्च हिमाली क्षेत्रमा दिनहुँजसो हिमपात हुँदै आएको छ भने फलेमा पनि अहिले बाक्लो हिउँ परेको छ । करिब तीन हजार तीनसय मिटर उचाइमा रहेको फलेका बासिन्दाले पालेको बाख्रा चिसोले धमाधम मर्न थालेका स्थानीयले बताएका छन् ।

फलेकी स्थानीय फुटी शेर्पाका अनुसार हिउँ पर्न थालेसँगै चिसो अध्यधिक बढेपछि बाख्रा मर्न थालेका हुन् । आफूले पालेका ३१ वटामध्ये हालसम्म १० वटा बाख्रा मरेको उनले बताए। । उनले चिसोबाट जोगाउनलाई बाख्रा खोर (गोठ) भित्र राख्ने गरेको भए पनि राखेकै ठाउँमा मर्न थालेको बताए । बेलुका तन्दुरुस्त देखिएका बाख्रा बिहान मरिराखेको हुने उनको भनाइ छ ।

लामो समयदेखिको हिमपातसँगै बढेको चिसोले गर्दा बाख्रा मर्न थालेका स्थानीय पेमाला शेर्पाको भनाइ छ । उनका अनुसार फलेमा एक दर्जनजति परिवारको बसोबास रहेको र हाल प्रत्येक परिवारले पालेका बाख्रा मर्न थालेका छन् । हिजोआज चरनक्षेत्र सबै हिउँले ढाकेको छ भने चिसोका कारण बाख्रा धमाधम मर्न थालेपछि ठूलो घाटा बेहोर्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

चिसोका कारण नभइ अन्य कारणले बाख्रा मरेको भएमा उपचार र परीक्षण गराउने कुनै व्यवस्था नभएको स्थानीय किसान बताउँछन् । बाख्रा लगायत पशुचौपायाको उपचार तथा परीक्षण सेवाका लागि फलेका बासिन्दाले गाउँपालिका केन्द्र तापेथोक र सदरमुकाम फुङ्लिङमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

फलेदेखि तापेथोक पुग्नलाई दुई दिनको पैदल यात्रा गर्नुपर्छ भने सदरमुकाम फुङ्लिङका लागि तीन दिन लाग्छ । यहाँदेखि नजिकको बस्ती भनेको घुन्सा करिव दुई घण्टाको पैदल दूरीमा रहेको छ । त्यस्तै अर्को बस्ती ग्याब्ला करिव पाँच घण्टाको दूरीमा पर्दछ ।

दुर्गम क्षेत्र फलेका बासिन्दाले अहिलेको समयमा पशुचौपायाको स्वास्थ्य परीक्षण तथा उपचार गर्न चाहेमा पनि तत्काल सम्भव नरहेको बताउँछन् ।

चिसोबाट पशुचौपायालाई बचाउने उपायबारे आफूहरु पशु विषेशज्ञको परामर्श साथै स्थानीय जनप्रतिनिधिसँग सहयोग लिने पहुँचमा नरहेको फुटी शेर्पाको भनाइ छ । हिउँका कारण अहिले आउजाउ गर्नलाई बाटो अवरुद्ध रहेको छ भने सहज रुपमा टेलिफोन सम्पर्क गर्ने स्थितिसमेत नभएको उनको भनाइ छ ।

स्थानीयका अनुसार बाख्राबाहेक चौंरी र अन्य पशुचौपायालाई पनि चिसोले निक्कै समस्या बनाएको छ । त्यहाँका बासिन्दा हाल घरभित्रै आगो तापेर साथै न्यानो कपडाहरु लगाएर बस्दै आएका छन् । 

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - २०:२७:०९ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology