उषा तामाङ, काठमाण्डौ, २१ माघ । गत बर्ष देशभरका हिमाल आरोहण अनुमतिबाट ५५ करोड ९८ लाख रोयल्टी सङ्कलन भएको छ । राष्ट्रिय वित्त आयोगका अनुसार १ सय ८० समुहबाट १ हजार ४ सय २७ जनाले देशभरका बिभिन्न हिमाल आरोहणको लागि अनुमति लिएका थिए ।
सङ्कलन भएको रोयल्टी ५० प्रतिशत सङ्घलाई स्थानीय र प्रदेश सरकारलाई २५÷२५ प्रतिशत बाँडफाँड गरिएको छ । गत बर्ष सबैभन्दा बढि प्रदेश १ ले १२ करोड ११ लाख ८४ हजार,बागमती प्रदेशले १ करोड ३१ लाख ६६ हजार, गण्डकी प्रदेशले ५५ लाख ४ हजार, कर्णाली प्रदेशले १ लाख ४१ हजार र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशले ९ हजार रोयल्टी प्राप्त गरेको छ । रोयल्टी प्राप्त गर्ने देशभरका ८६ स्थानीय तहमध्ये सबैभन्दा बढि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गत बर्ष ९ करोड ५ लाख र दोस्रोमा सङ्खुवासभाको मकालु गाउँपालिकाले १ करोड २ लाख रोयल्टी सङ्कलन गरेको छ ।
रोयल्टीबाट प्राप्त भएको रकमले मकालु हिमाल जाने पदमार्ग, पुल लगायका संरचना निर्माण गरिएको उपाध्यक्ष चमेली राइले जानकारी दिनुभयो । नेपालमा ६ हजार भन्दा माथी उचाइका १३ सय १० हिमाल रहेकामा ४ सय १४ हिमाल आरोहण गर्न योग्य छन् । ति हिमालमा वार्षिक १ हजार ५ सय बढिले आरोहण गर्ने गरेका छन् । हिमाल आरोहण गर्न र हिमाल हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको स्वागत सत्कार गर्दै आफुहरूको जिविकोपार्जन भइरहेको नाम्चे बजारका होटल व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।
शेर्पा जस्तै त्यस क्षेत्रका ९० प्रतिशत नागरिक पर्यटन व्यवसाय गर्छन् । सगरमाथा आरोहण गर्नेबाट सरकारले रोयल्टी स्वरुप शरद ऋतुमा ६ लाख ५५ हजार ५ सय र बसन्त ऋतृमा १३ लाख ९ हजार रकम लिने गरेको छ । नेपालका हिमालका कारण प्रदेश, स्थानीय सरकार र स्थानीय नागरिक सम्मले कुनै न कुनै रुपमा फाइदा लिइरहेका छन् ।