गोरखा, १९ माघ । सरकारले माघ महिनाभर विद्यालय भौतिक रुपमा सञ्चालन नगर्न गरेको निर्देशन उल्लंघन गर्दै गोरखाका दुई गाउँपालिकाले विद्यालय सञ्चालन गरेका छन् । जिल्लाको बारपाक सुलीकोट गाउँपालिका र गण्डकी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै विद्यालय खुलाउन विद्यालय प्रशासनलाई निर्देशन दिएको हो ।
पालिकाको निर्देशन पालना गर्दै ती पालिकाका विद्यालयहरुले सोमबार र मंगलबारदेखि नै विद्यार्थीहरुलाई बोलाएको छ । केन्द्रीय स्तरको सिसिएमसीको निर्देशन अनुसार जिल्ला स्तरको डिसिसिएमसीले पनि सोमबार बैठक बसी माघ महिनाभर भौतिक रुपमा विद्यालय सञ्चालन नगर्न सबैमा निर्देशन गरेको छ ।
डिसिसीएमसीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा सोमबार बसेको वैठकले शैक्षिक संस्था लगायतका स्थानहरु माघ मसान्तसम्ममा नखुलाउने निर्णय गरेको थियो । ‘बारपाक सुलिकोट शिक्षा शाखाको मिति २०७८ माघ १६ गतेको निर्णको सूचना तथा निर्देशन अनुसार कक्षा ८ र १० को पठनपाठन माघ १७ गतेबाट संचालन गर्न’ सो पालिकाका विद्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
त्यस्तै, विद्यालयको अवस्थालाई मध्यनजर गरी कक्षा १०, ११ र १२ को पठनपाठन माघ १९ गते मंगलबारबाट संचालन हुने भएकाले कक्षाका सम्पूर्ण विषयका शिक्षकहरु र विद्यार्थीहरु माघ १९ गते १० बजे अनिवार्य माक्स लगाई विद्यालयमा नियमित उपस्थिति हुन समेत निर्देशन दिएको छ ।
तर भौतिक उपस्थितिमा पठनपाठन गर्न कुनै अनुमति नदिएको बारपाक सुलीकोट गाउँपालिकाका शिक्षा शाखाका अधिकृत बसन्तराज भट्टले बताए । ‘हामीले भौतिक उपस्थितिमा पठनपाठन गर्न भनेर अनुमति दिएका छैनौँ तर अभिभावकहरुले गाउँघरमा विवाह, भोज गर्न मिल्ने विद्यार्थीको पढाई चाहिँ किन रोक्ने भन्ने कुरा आएपछि अनौपचारिक रुपमा भौतिक तथा सामाजिक दुरी कायम गरेर पढाउन थालेका होलान । त्यसका बारेमा विद्यालयलाई सोध्नुपर्छ’, उनले भने ।
सरकारले वैकल्पिक रुपमा भर्चुअल र अनलाइन कक्षा संचालन गर्न भनेर आदेश दिए पनि ग्रामीण भूगोलमा इन्टरनेटको राम्रो पहुच नहुनु र पहुँच भएता पनि सबैसँग सुविधायुक्त मोबाईल फोन नहँुदा वैकल्पिक साधनबाट पठनपाठन गर्न समस्या हुने गरेको उनले जानकारी दिए । त्यसैले स्थानीयहरुको दबाबका कारण विद्यालय पठनपाठन सुरु भएको हुनसक्ने उनले बताए ।
त्यस्तै, गण्डकी गाउँपालिका वडा ७ मा घाल्चोकमा रहेको ज्ञानमार्ग माविले पनि भौतिक उपस्थितिमा पठनपाठन हुने भनेर सूचना जारी गरेको छ । ‘गण्डकी गाउँपालिकाको कार्यालय भूम्लिचोक गोरखाको मिति २०७८/१०/१७ च न. ३४६८ को पत्रानुसार स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्डहरु पालन गरि २०७८/१०/१८ गतेदेखि भौतिक रुपमा शिक्षक विद्याथीको उपस्थितिमा पगनपाठन सञ्चालन गर्नुहुन भन्ने अनुरोध पत्र प्राप्त भएकोले यस श्री ज्ञानमार्ग मावि गण्डकी ७, घ्याल्चोक गोरखाका सम्पूण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई विद्यालयमा उपस्थिति हुन यसै सूचनाद्वारा जाकारी गरिन्छ’ सूचनामा भनिएको छ । दरौदी दैनिकबाट
