Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनको भरतपुरमा शिक्षक अस्पताल बन्ने निश्चितः मन्त्रीपरिषद्ले गर्‍यो निर्णय

चितवनको भरतपुरमा शिक्षक अस्पताल बन्ने निश्चितः मन्त्रीपरिषद्ले गर्‍यो निर्णय

images

इच्छाकामना न्युज

१७, माघ २०७८
चितवनको भरतपुरमा शिक्षक अस्पताल बन्ने निश्चितः मन्त्रीपरिषद्ले गर्‍यो निर्णय
images

चितवन, १७ माघ । सरकारले शिक्षक अस्पताल भरतपुरमा बनाउने भएको छ । मेडिकल सिटीका रूपमा परिचित चितवनको भरतपुरमा थप एउटा केन्द्रीय स्तरको अस्पताल बन्ने पक्का भएको हो ।

शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव मन्त्रीपरिषद्बाट पारित भएको छ । प्रस्ताव पारित भएसँगै मेडिकल सिटी भरतपुरमा नयाँ आयाम थपिएको भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहालले बताइन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुरमा बनाउन भरतपुर महानगरपालिकाले प्रस्ताव गरेको थियो । सोही अनुसार शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए । 

शिक्षक अस्पताल बनाउन भरतपुर महानगरपालिकाले भरतपुर–१५ भगवानपुरमा आठ बिघा १६ कठ्ठा जग्गा दिने भएको छ । भरतपुर देशकै मध्यभागमा पर्ने भएकाले देशभरका शिक्षकहरूलाई उपचारका लागि भरतपुर उपयुक्त स्थान हुने अपेक्षा गरिएको छ । मन्त्रालयले सुरुमा तीन सय शय्याको अस्पताल बनाएर विस्तार गर्दै लैजाने योजना बनाएको छ ।

भरतपुर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रसमेत हो । शिक्षक अस्पताल भरतपुरमा बनाउनका लागि प्रचण्ड पनि सकारात्मक थिए ।

शिक्षक अस्पताल निर्माण गर्नका लागि शिक्षा मन्त्रालयले डा विमल चालिसेको संयोजकत्वमा पूर्वसम्भाव्यता अध्ययन तथा जग्गा पहिचान समिति बनाएको थियो । समितिले नवलपरासी, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका स्थानमा जग्गा हेरेको थियो । 

चितवनमा दुई ठूला सरकारी अस्पताल, दुई मेडिकल कलेज र थुप्रै प्रदेश स्तरका निजी अस्पताल छन् । भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको लागि पनि भरतपुर महानगरले पहल कदमी लिएको थियो । रंगशाला निर्माणका लागि महानगरले २० बिघा जग्गा धुर्मुस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराए पनि निर्माण सम्पन्न हुन सकेन । 

images
प्रकाशित मिति :माघ १७, २०७८ सोमवार - २२:११:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology