देवचन्द्र भट्ट, नुवाकोट, ११ माघ । छोरीको सुरक्षा र शिक्षाको लागि सूर्यगढी गाउँपालिकाले छोरीलाई मासिक एक सय रुपैयाँ भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाभित्र जन्मिएका छोरीहरूको खातामा मासिक एक सय रुपैयाँ जम्मा गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभयो ।
बढ्दो रुपमा रहेको भ्रुण हत्यालाई न्यूनिकरण गर्न र आमाको स्वास्थ्यमा समेत सुधार ल्याउन चालु आर्थिक वर्षदेखि जन्मिने छोरीहरूले यो सुविधा पाउनेछन् । छोरा र छोरीबिचमा हुने भेदभाव कायमै रहेकोले त्यसलाई अन्त्य गर्न गाउँपालिकाले उक्त कार्य सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
छोरीको जन्म पश्चात जन्मदर्ता गर्नुपर्ने र जन्मदर्ता गरेपछि गाउँपालिकाले मासिक रुपमा १ सय रुपैयाँ बच्चा ८ वर्ष नहुन्जेलसम्म जम्मा गरिरहने व्यवस्था रहेको अध्यक्ष घलेले बताउनुभयो । जन्मिएको महिनामा नैै जन्म दर्ता गराएको खण्डमा बच्चा ८ वर्षको हुँदा उसको नाममा ९ हजार ६ सय रुपैयाँ जम्मा भएको हुनेछ ।
जम्मा भएको रकम ८ वर्षपछि मात्रै निकाल्न पाइने व्यवस्था गरिएको छ ।