तनहुँ, २ माघ । तनहुँको बन्दिपुर गाउँपालिका– ६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा एउटै गाउँका ६ जनाको मृत्यु हुँदा धरमपानी गाउँ शोकमा छ । आँबुखैरेनी गाउँपालिका– ५ को घुमाउनेबाट बन्दिपुरको धरमपानी तर्फ आउँदै गरेको ग१ज ६५५५ नम्बरको बोलेरो जीप धरमपानीको बाक्सेमा अनियन्त्रित भई दुर्घटना हुँदा ९ महिने बालिका सहित ४ जनाको घटनास्थलमै र अन्य २ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
सडक दुर्घटनामा परी चितवनबाट उपचार गरी गाउँ फर्कदै गरेका र माघेसंक्रान्ति पर्व मनाउनका लागि गाउँ आउँदै गरेका व्यक्तिहरु परेको बन्दिपुर–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले बताए। उनले भने, ‘एकैचोटी गाउँका ६ जनाको मृत्यु हुँदा गाउँ अहिले शोकमा डुबेको छ । चाडपर्वको समयमा गाउँ सुनसान बनेको छ ।’
प्रहरीका अनुसार दुर्घटनामा परी बन्दिपुर–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, नौ महिने बालिका आरुबी थापा, ४८ वर्षीय सुकबहादुर गुरुङ र ५० वर्षीया विमाया गुरुङको मृत्यु भएको छ । मृतकमध्ये हरि र सुशीलादेवी श्रीमान् श्रीमति हुन् भने बिमाया र रोशन आमा छोरा हुन् ।
चाडपर्व भएपनि छिमेकमै रुवाबासी चल्दा आफु पनि रमाउन नसकेको स्थानीय बिजय रानाले बताए । मृतक हरिका जेठो छोरो बैदेशिक रोजगारीमा छन् र छोरीको विवाह भइसकेको छ । घरमा श्रीमान्श्रीमती, कान्छो छोरा, ९० वर्ष कटेकी बुढि आमा र एउटा अपाङ्गता भएका दाजु छन्। बिमार श्रीमतीलाई भतरपुर स्वास्थ्य उपचारका गराई घर फर्कदै गर्दा दम्पती नै दुर्घटनामा परेका छन् ।
यस्तै, मृतक सुकबहादुर माघे संक्रान्ति पर्व मनाउनका लागि छोरी र ज्वाई लिन भनि चितवन गएका थिए । छोरी ज्वाई लिई घर फर्किदै गरेका उनको पनि दुर्घटनामा परी मृत्यु भएको रानाले बताए । उनले भने, ‘घाइते छोरी ज्वाई भने उपचाररत छन् ।’ जीपमा सवार स्थानीयहरु कोही उपचारका लागि र कोही चाडपर्वको किनमेलका लागि बजार गएर फर्कदै गरेको उनले बताए ।
बुद्धसिं मार्ग हुँदै भित्रि ग्रामीण सडक भएपनि दुर्घटनास्थल केही उकालो र कालोपत्रे सडक थियो। जीपको क्षमताभन्दा बढि यात्रु बोकेर आउँदै गर्दा अनियन्त्रित भई सडकबाट करिव एकसय मिटर तल जीप खसेको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए ।
जीप चालकले नभई साहुँले चलाएको र चालककै लापर्वाहीका कारण दुर्घटना हुन पुगेको अध्यक्ष थापाको भनाई छ । चालकले साहुँलाई जीप जिम्मा लगाएर घर गएका र भर्खर सिक्दै गरेका साहुँले जीप चलाउँदा दुर्घटना भएको स्थानीयले बताएका छन् ।
यता तनहुँ प्रहरीले भने चालक र धनिलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताएको छ । माघे संक्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिङ्गो गाउँपालिका नै शोकमा डुबेको अध्यक्ष थापाले बताएका छन् । दुर्घटनाको खबर पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए।
अध्यक्ष थापाका अनुसार बन्दिपुर र आसपासबाट आठ वटा एम्बुलेन्स उद्धारका लागि खटाइएको थियो । ‘घाइतेको उपचारका लागि बन्दिपुरमा रहेका सबै चिकित्सकलाई परिचालन गरिएका थियौं’, उनले भने, ‘घाइतेको उपचारमा कुनै कसर बाँकी राखेनौं, घाइते भएका आठ जनालाई थप उपचारका लागि रातीनै भरतपुर अस्पताल पठाएका थियौ । अहिले सबैको अवस्था सामान्य छ ।’
आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दिपुरतर्फ जाँदै गरेको जीप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्याक भएर सडकबाट करिव एकसय मिटर तल खसेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।
दुर्घटनामा २१ वर्षीया जमुना थापा, ४८ वर्षीया मंकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बालिका विविशा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापा घाइते भएका छन् ।
‘जीपको स्टार्ट बन्द भएर पुनःस्टार्ट गर्न खोज्दा पछाडि हटेपछि जीप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धनमा देखिएको छ’, उनले भने, ‘दुर्घटनामा घाइतेहरुको तत्काल उद्धार गरी उपचारका लागि लगिएको र मृतकको शव दमौली अस्पतालमा ल्याइएको छ । भञ्ज्याङ्ग दैनिकबाट