Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लुम्बिनीमा सभाहल र ध्यानकेन्द्र निर्माण अन्तिम चरणमा, बुद्ध जयन्तीमा उद्घाटन गरिने

लुम्बिनीमा सभाहल र ध्यानकेन्द्र निर्माण अन्तिम चरणमा, बुद्ध जयन्तीमा उद्घाटन गरिने

न्युज कारखाना

२७, पौष २०७८
लुम्बिनीमा सभाहल र ध्यानकेन्द्र निर्माण अन्तिम चरणमा, बुद्ध जयन्तीमा उद्घाटन गरिने
images

लक्ष्मण पौडेल, बुटवल, २७ पुस । बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी विकास कोषले आगामी  २ जेठ, बुद्ध जयन्तीका दिन ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको छ ।

images
images

'ध्यान केन्द्रमा ल्याण्डस्केपिङ र बाउन्ड्री वालको काम मात्र बाँकी छ, यो काम पनि चालु अवस्थामा छ, त्यस्तै झ्याल ढोका लगाउने काम पनि जारी छ,' कोषका योजना प्रमुख सरोज भट्टराईले भने, 'आगामी बुद्ध जयन्तीका दिन सभाहल र ध्यान केन्द्रको उदघाटन हुनेछ ।'

लुम्बिनीमा आयोजना हुने ठूला सभा समारोहका लागि सम्मेलन केन्द्रको अभाव भएपछि १७ वैशाख २०७५ मा २५६२औँ बुद्ध जयन्तीको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन केन्द्रको शिलान्यास गरेकी थिइन् ।  

२०७७ असारभित्रै सम्पन्न गर्ने लक्ष्यसहित अनक-अर्घाखाँची-बाबुल जेभी सिद्धार्थनगरले निर्माणको जिम्मा लिएको थियो । निर्धारित समयमा निर्माण कार्य पूरा नभएपछि २०७७ असोजसम्मको समय थप गरिएको थियो । तर, सम्झौताको दुई वर्ष ढिलो गरी निर्माण सम्पन्न हुन लागेको योजना प्रमुख भट्टराईले भने । उनका अनुसार कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएपछि २०७९ असार मसान्तसम्म समय थप गरिएको हो । 

सम्मेलन केन्द्रको भवन मात्रै निर्माण गर्ने सुरुवाती योजना रहेकोमा पछि विभिन्न संरचना थप गरिएको थियो । पहिलो चरणमा निर्माण थालिएको पाँच हजार मानिस अट्ने सम्मेलन केन्द्रको निर्माण सकिएको इन्जिनियर भट्टराईले बताए । २०७७ पुसमा सम्झौता गरिएको दोस्रो चरणको काम भने आगामी असारसम्म पूरा हुने छ । दोस्रो चरणको काम करिव ५० प्रतिशत सकिएको उनकाे भनाइ छ ।

चार बिघा क्षेत्रफलमा निर्माण भैरहेको पहिलो चरणको कामका लागि ३३ करोड रुपैयाँ खर्च भएको लुम्बिनी विकास कोषले जनाएको छ । दोस्रो चरणमा पनि २७ करोड बराबरका संरचना निर्माण हुनेछन् ।

२०७३ साल जेठ ८ गते २५६० औं बुद्ध जयन्ती मनाइरहँदा हावाहुरी र वर्षाले बिथोलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजार क्षमताको सम्मेलन केन्द्र निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसको दुई वर्षपछि सम्मेलन केन्द्र तथा ध्यान केन्द्रको शिलान्यास गरिएको थियो ।

दुई वर्षभित्रै सभागृह निर्माण गर्ने भनिए पनि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा नै दुई वर्ष बितेको थियो । तीन सय ८६ दशमलव ८८ वर्गमिटर यो सम्मेलन केन्द्रको डिजाइन दक्षिण एसियामै नमूना भएको कोषको दाबी छ । सम्मेलन केन्द्रमा आवश्यकता अनुसार अटोमेटिक पार्टेसन गर्न सकिने प्रविधि जडित हुनेछ ।

पहिलो चरणमा सम्मेलनकेन्द्र, दुई वटा शौचालय र कन्ट्रोल रुम बनाइएको छ । सम्मेलन केन्द्र तथा ध्यान केन्द्रमा मौसम अनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो लगाइएको छ । लुम्बिनी अत्यन्त गर्मी हुने स्थल भएकोले तापक्रम तलमाथि गर्न मिल्नेगरी प्यानल प्रयोग गरिएको कोषले जनाएको छ ।

जापानिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी गुरूयोजनामा सम्मेलन केन्द्र नसमेटिएको भए पनि यसलाई गुरूयोजनामा मेलखाने गरी निर्माण गरिएको कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले बताए । 

 

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - ०९:४०:१३ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology