Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

images

इच्छाकामना न्युज

२७, पौष २०७८
बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक
images

बुटवल, २७ पुस । काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ ।

केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई  जाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । 'अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल  प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँचबिना गन्तव्यमा पुग्न रोक लगाइएको छ,' रुपन्देहीका प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले भने ।

अहिले भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकलाई समेत सुरक्षाकर्मीले बेलहिया नाकामा रोक्ने गरेका छन् । पर्यटकलाई बेलहिया हेल्थ डेस्कमा कोरोना परीक्षण गर्ने व्यवस्था छ । कोरोना पोजेटिभ देखिए उनीहरुलाई नेपाल भ्रमणको अनुमति दिँइदैन ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले झिन्टीगुन्टा बोकेर स्वदेश फर्किने नेपाली र बाह्य पर्यटकको नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण हुने गरेको जानकारी दिए । “स्वदेश फर्किएका नेपालीमा संक्रमण देखिए सुरक्षितरुपमा गन्तव्यमा पुर्‍याइन्छ भने भारतबाट आउने पर्यटकहरुमा संक्रमण देखिए नाकाबाट नै फर्काउने गरिएको छ,' उनले भने ।

भारतमा कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिन थालेपछि रुपन्देहीको बेलहिया नाकामा सतर्कता अपनाउन थालिएको हो । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका कर्मचारी खटिएका छन् ।

मुख्य नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण हुने भए पनि स्थानीय सर्वसाधारणलाई नाकाबाट आवतजावतमा कुनै रोकावट छैन । जसबाट पनि संक्रमणको जोखिम बढेको ओमसतिया गाउँपालिकाकाका प्रमुख हिरा केवटले बताए ।

नाकामा परीक्षणकाे दायरा बढ्याे

बेलहिया नाकामा एन्टिजन परीक्षणको दायरा बढाइएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नाकामा एन्टिजन परिक्षणको दायरा बढाउँदा नाकामै संक्रमित फेला पर्न थालेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।

उनका अनुसार बेलहिया नाकामा पुस २१ गते स्वदेश भित्रिनेमध्ये २८० जनाको एन्टिजन परीक्षण गर्दा ३६ जनामा पोजेटिभ देखिएको थियो । त्यस्तै २२ गते ५१८ जनामा परीक्षण गर्दा १०५ जनामा, २३ गते १८० जनामा परीक्षण गर्दा १८ जनामा, २४ गते ४०७ जनामा परीक्षण गर्दा ३९ जनामा, २५ गते २३० जनामा परीक्षण गर्दा २६ जनामा र २६ गते ३२५ जनामा परीक्षण गर्दा ३१ जनामा पोजेटिभ देखिएको छ ।

नाकाबाट आवतजावत गर्ने सबैको कोरोना परीक्षण हुँदैन । 

 

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - ०९:२९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology