Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गाउँपालिकाकाे भवन निर्माण अलपत्र, ठेकेदारकाे जमानत जफत गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

गाउँपालिकाकाे भवन निर्माण अलपत्र, ठेकेदारकाे जमानत जफत गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

न्युज कारखाना

२७, पौष २०७८
गाउँपालिकाकाे भवन निर्माण अलपत्र, ठेकेदारकाे जमानत जफत गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
images

खोटाङ, २७ पुस । उच्च अदालत पाटनले खोटाङको ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदारको कार्यसम्पादन जमानत जफत गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

images
images

प्रशासनिक भवन निर्माणको जिम्मा लिएको रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी, नयाँ बानेश्वर, काठ्माण्डौंले सार्वजनिक खरिद ऐनविपरीत काम गरेको भन्दै गाउँपालिकाले कार्यसम्पादन जमानत जफतका लागि नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड, बागबजार, काठ्माण्डौंलाई पत्राचार गरेको केही समयपछि अदालतको अल्पकालिन अन्तरिम आदेश आएको हो । 

न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले कार्यसम्पादन जमानत जफतका लागि नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडलाई गरिएको पत्राचारलाई कार्यान्वयन नगर्न उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेकाे हाे ।

गाउँपालिकाले बैंकबाट जारी भएको ठेकेदारको ३१ लाख २ हजार १३० रुपैयाँको कार्यसम्पादन जमानत रकम गाउँपालिकाको आन्तरिक राजस्व खातामा जम्मा गर्नका लागि गत ११ पुसमा बैंकलाई पत्राचार गरेको थियो । 

सार्वजनिक खरिद ऐन बमोजिमको आचरण उल्लंघन गरेको भन्दै गाउँपालिकाले ठेक्का तोडेर रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीलाई कालोसूचीमा राख्न र कार्यसम्पादन जमानत फिर्ताका लागि सिफारिस गरेको हो । निर्माण व्यवसायीले भवन निर्माणको काममा ढिलासुस्ती गरेको, गुणस्तरहिन काम गरेको तथा भवनको ग्राउण्ड फ्लोरको पिलरको पास भएको नक्कली ल्याव रिपोर्ट बनाएको खुलेपछि गाउँपालिकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम भवन निर्माण सम्वन्धी ठेक्का रद्ध गर्ने निर्णय गरेको थियो ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ औंल्याए पनि निर्माण कम्पनीका प्रतिनिधिले पास भएको नक्कली ल्याव रिपोर्ट तयार पारेर पेश गरेको पाइएपछि कारबाही अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् । 

(क्याप्सन : ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवन । तस्बिर सौजन्य : खेमराज पुरी)

 

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - ०८:५४:०५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology