Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँको भिमाद स्थित मोहोरियाको घरघरमा धारा

तनहुँको भिमाद स्थित मोहोरियाको घरघरमा धारा

images

न्युज कारखाना

२४, पौष २०७८
तनहुँको भिमाद स्थित मोहोरियाको घरघरमा धारा
images

तनहुँ, २४ पुस । भिमाद नगरपालिका–९ मोहोरियाकी रुन्चीमाया रानासँग आधा रातमा राँको बालेर पानी खोज्दै कुवा धाएको लामो अनुभव छ । परिवारका सदस्य र बस्तुभाउलाई गाग्रीमा पानी बोकेर पुर्‍याउन मुस्किल थियो उनलाई । हरेक दिन खानेपानीको जोहोमा सास्ती भोगेकी ६५ बर्षीया रानाको घरको दैलोमा खानेपानीको धारा जोडिएको छ अहिले । 

दैलोमा खानेपानीको धारा देख्दा सपना जस्तै लाग्छ उनलाई । पहिले भोगेका दुख बिर्साउँछ दैलोको धाराले । ‘उ बेला बिहान ३ बजे उठेर राँको बाल्दै कुवामा पानी भर्न जान्थ्यौं । पालो कुरेर बस्थ्यौं । अहिले घरमा खानेपानीको धारा देख्दा सपना जस्तै लाग्छ । यस्तो दिन आउँला भनेर कहिल्यै सोचिएन्’, उनले भनिन् । 

उनको अनुभवमा महिलालाई घरमै पानीको धारा पाएपछि त्यो भन्दा सुख केही हुँदो रहनेछ । घाँसदाउरा, ढिकीजाँतो र खानेपानी बोक्दा धेरै दुःख भोगेको उनले बताइन् । पानीको जोहोमा घण्टौं बिताउनु नपर्ने भएकाले दैलोमा भएको खानेपानी धाराले दुःख बिर्साएको रुन्चीमायाले बताइन् ।

उनलाई जस्तै खानेपानीको जोहो गर्न सजिलो भएको छ मोहोरियावासीलाई । यहाँका प्रत्येक घर घरै खानेपानीको धारा जडान गरिएको छ ।  कुवा पधेरो र खोल्सीमा पानी खोज्दै धाउने बाध्यताको अन्त्य त २०६५ सालमा गर्न खोजिएको थियो । त्यतिबेला स्याङ्जाको राम्चेबाट खानेपानी ल्याएर गाउँका १० घर बराबर एउटा घारा जडान गरिएको थियो । 

बिहानको समयमा मात्र आउने पानीले गाउँलेको मागलाई भरथेग गर्न मुस्किल हुन्थ्यो । स्थानीयको भनाई अनुसार पानीको धारा त कल(झगडा) धारा बन्यो । ‘टोल टोलमा धारा भए पनि बिहानको समयमा मात्रै पानी आउँथ्यो । पर्याप्त नहुने भएकाले लाइन कुरेर नबसे पानी नपाउने समस्या थियो’ मोहोरिया पिपलडाँडाकी देवीमाया रानाले भनिन् । उनका अनुसार अहिले घर घरै धारा भएपछि न पालो कुर्नुपर्ने झन्झट छ न त कसैसँग पानीको विषयमा झगडा नै हुन्छ । 

‘जति बेला चाहियो उतिबेला घरकै धारा खोलेर पानी भर्न पाइएछ । पानी भर्नलाई पालो पर्खन नपरेपछि घरधन्दा बेलामै सकिँदो रहेछ’, उनले सुनाइन् । एक ग्रागी पानीले दिन कटाएकी देवीमायाले चाहे जति पानी पाएकी छन् । घरकै धारामा प्रशस्त पानी आउन थालेपछि गाउँलेले तरकारी फलाउन थालेको उनले बताइन् ।

पुरानै राम्चेको मूलबाट ल्याएको नयाँ योजनाको पानीले गाउँलेलाई राहत दिलाएको छ । ५.५ किलोमिटर टाढाबाट ल्याएको पानी प्रशस्त पुगेको उपभोक्ताहरू बताउँछन् । पानीको मूल नजिक पुरानो २० घनमिटरको ठ्याँकिलाई मोहोरिया खानेपानी योजनाले प्रयोग गरेको छ । नौ र दुई घनमिटरको दुई÷दुई वटा, छ र पाँच घनमिटरको एक/एक वटा नयाँ ट्याङ्की बनाएर ११२ घरमा घरघरै खानेपानी धारा जडान गरिएको छ । तीन स्थानमा सार्वजनिक धारा जडान गरिएको मोहोरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नवीनकुमार रानाले बताए । 

रानाका अनुसार ४८ लाख ७१ हजार १२५ रुपैयाँ लगानी गरेर घरघरै खानेपानीको धारा पुर्‍याइएको हो । एक घर एक धारा जडान गर्न मोहोरियावासीले स्थानीय सरकारले भन्दा बढी लगानी गरेका छन् । 

भिमाद नगरपालिकाले १७ लाख ४० हजार ६८ रुपैयाँ बजेट खानेपानी योजनालाई उपलब्ध गराएको अध्यक्ष रानाले जानकारी दिए । स्थानीय उपभोक्ताले घरधुरीका हिसाबले संकलन गरेर २५ लाख ७७ हजार ३५७ रुपैयाँ लगानी गरेका छन् । घरधुरी उठाएको रकमले अपुग भएपछि पाँच लाख ५३ हजार ७०० रुपैयाँ बराबरको जनश्रमदान समेत गरेको अध्यक्ष रानाले बताए । ‘हामीलाई घरघरै पानीको धारा आवश्यकता थियो । नगरपालिकाले बजेट छुटाइदिएपछि त्यो भन्दा बढी हामीले नै लगानी गर्‍यौं’, उनले भने ।

 

images
प्रकाशित मिति :पौष २४, २०७८ शनिवार - २०:४६:५५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology