Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन–पोखरा सडक विस्तारको क्रममा चुनपहरा भत्काउने होइन संरक्षण गर्नुपर्छ भन्दै रक क्लाइम्बिङ महोत्सव

मुग्लिन–पोखरा सडक विस्तारको क्रममा चुनपहरा भत्काउने होइन संरक्षण गर्नुपर्छ भन्दै रक क्लाइम्बिङ महोत्सव

न्युज कारखाना

११, पौष २०७८
मुग्लिन–पोखरा सडक विस्तारको क्रममा  चुनपहरा भत्काउने होइन संरक्षण गर्नुपर्छ भन्दै रक क्लाइम्बिङ महोत्सव
images

तनहुँ, १० पुस । स्वदेशी र विदेशी पर्यटकमाझ परिचत तनहुँको एउटै गन्तव्य हो बन्दीपुर । समग्र बन्दीपुर पर्यटकका लागि प्याकेज भए पनि यहाँ ग्रामीण पर्यटनदेखि साहसिक पर्यटनका छुट्टाछुट्टै गन्तव्य छन् । 

images
images

बन्दीपुर गाउँपालिका–४ विमलनगरमा छ, साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य चुनपहरा । जहाँ बर्सेनि हजारौँ स्वदेशी र विदेशी पर्यटक रक क्लाइम्बिङ गर्न आइपुग्छन् । पृथ्वी राजमार्गसँगै जोडिएकाले सबै दृष्टिले उपयुक्त मान्छन् साहसिक पर्यटकले विमलनगरको चुनपहरालाई । हिमाल आरोहण गर्नु पूर्व अभ्यास गर्न होस् या सुरक्षाकर्मीको तालिमका लागि रोजाइमा पर्छ चुनपहरा । 

विमलनगरको चुनपहरामा २०६३ सालमा रक क्लाइम्बिङको रुट तयार भएको थियो । त्यसपछि साहसिक पर्यटकमाझ चिनिएको चुनपहरा रुट तयारको भएको १५ वर्षमै अस्तित्व मेटिन्छ कि भन्ने चिन्ता थपिएको छ । मुग्लिन पोखरा चार लेन सडक आयोजनाले चिन्ता थपिदिएको हो । सडक फराकिलो पार्ने क्रममा चुनपहरा भत्कने सक्ने आंशकाले स्थानीय सरकार, पर्यटन व्यवसायी र साहसिक पर्यटनसँग सम्बद्ध संघसंस्था झस्किएका छन् । यी सबैको एकमत छ– कुनै हालतमा चुनपहरा भत्काउनु हुँदैन, सडकका लागि अन्य विकल्प सोच्नुपर्दछ । रक क्लाइम्बिङमा विमलनगरको चुनपहरा जस्तो उत्कृष्ट गन्तव्य अन्त कतै नभएको उनीहरूको दाबी छ । 

सडक फराकिलो बनाउँदा पहरालाई कटान गर्न नहुने विमलनगर सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठ बताउँछन् । ‘चुनपहरा कटान नगरी सडक विस्तार गर्नलाई वैकल्पिक उपाय सोच्नुपर्दछ । हामीले कुनै पनि हालतमा भत्काउन दिँदैनौँ । पहरा संरक्षण गर्न रगतको खोला बगाउन परेछ भने पनि हामी तयार छौँ’, उनले भने । पर्यटनका लागि चुनपहरा राज्यकै गहना भएकाले सबै मिलेर जोगाउनुपर्ने उनको भनाइ छ । देश विदेशबाट चुनपहरा जोगाउनलाई आवाज उठिरहेको उनी बताउँछन् । 

विमलनगरको चुनपहरा नेपालको पर्यटनको लागि कोशेढुंगा सावित हुने बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउँछन् । ‘पृथ्वी राजमार्गको विस्तारको क्रममा भत्कने कुराले सबैलाई झस्काएको छ । नभत्काउनलाई हामीले सरकोकारवालासँग माग गरेका छौँ’, अध्यक्ष थापाले भने । 

सडक विस्तार रोक्न नहुने तर चुनपहरा जोगाउनलाई विकल्प सोच्नुपर्ने उनी बताउँछन् । ‘पहरामा पूर्वाधार थप्दै स्थानीय युवालाई रोजगारसँग जोड्न सकिन्छ । भियाफेरता लगायतका पूर्वाधार थप्नलाई गाउँपालिकाले अध्ययन गर्दै छ’, उनले भने । 

चुनपहरा जोगाउँ भन्ने नाराका साथ शुक्रबारदेखि रक क्लाइम्बिङ महोत्सव नै गरिएको छ । सोमबारसम्म चल्ने महोत्वस पहरामै गरिएको नेपालमै पहिलो पटक हो । महोत्सवको उद्देश्य चुनपहरा भत्काउन हुँदैन भनेर सरोकारवालालाई दबाब दिने रहेको छ । महोत्सवको आयोजना नेपाल पर्यटन बोर्डसँगै बन्दीपुर गाउँपालिका र गण्डकी अल्पाइन क्लबले गरेका हुन् । 

नेपालमा २७ वटा क्लाइम्बिङ रुट भएको एक मात्र विमलनगरको चुनपहरा भएकाले संरक्षण गर्नुपर्ने गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही ठकुरी बताउँछन् । 

‘सडक सञ्जाल र खर्चको हिसाबले पर्यटकलाई चुनपहरा उपयुक्त छ । अन्तको पहरा यस्तो छैन् । तसर्थ रक क्लाइम्बिङका लागि यो नेपालकै उत्कृष्ट गन्तव्य हो’, उनले भने । चुनपहराको प्रर्बद्धन गर्न बन्दीपुरका अन्य गन्तव्यसँग जोड्न उनको सुझाव छ ।

केही दिन अगाडि मात्र विमलनगर चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण समितिले भौतिक तथा पूर्वाधार मन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाएको थियो । समितिले सडक विस्तारको बेला चुन पहरालाई जोगाउन तीन विकल्पसमेत पेस गरेको छ । विकल्पमा हाल कायम गरिएको मापदण्ड घटाउने, पहरा क्षेत्रको मापदण्ड घटाएर नदीतर्फ बढाउने र विमलनगरको पुलबाट पारी हुँदै लगभग एक दशमलव ५ किलोमिटर वैकल्पिक ट्रयाक खोलेर नयाँ पुल हुँदै निस्कने सडक बनाउन सुझाव दिइएको छ ।

सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडकखण्ड चार लेनको बन्दै छ । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाईएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिट सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । 

जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको हो । आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । सडक फराकिलो पार्ने र रुख कटानको काम सुरु भइसकेको छ । विमनगरको चुनपहरालाई कसरी जोगाउन सकिन्छ भनेर अध्ययन भइरहेको मुग्लिन पोखरा चारलेन सडक आयोजनाले जनाएको छ ।  आयोजना सुरुवातकै चरणमा भएकाले भइरहेको संरचनालाई असर नपु¥याइकन काम गर्ने आयोजनाले बताएको छ ।

images
प्रकाशित मिति :पौष ११, २०७८ आइतवार - १७:५५:४४ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology