चितवन, १० पुस । गुरुङहरुको धार्मिक सामाजिक संस्था तमू प्ये ल्हु संघ चितवनले भव्य रुपमा तमू ल्होसार मनाउने भएको छ । संघले आज भरतपुरमा पत्रकार सम्मेलन गरि यहि पुस १२ गते भव्य रुपमा तमू ल्होसार मनाउन लागेको जानकारी दिएको हो ।
संघले दिएको जानकारी अनुसार भरतपुर ११ स्थित नौरङ्गेमा ल्होसार मनाउन लागिएको हो । यसपटकको ल्होसारमा सधैं जस्तै शुभकामना आदानप्रदान तथा भव्य साँस्कृतिक कार्यक्रम सहित मनाउने तयारी भैरहेको संघका अध्यक्ष लालप्रसाद गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय कृष्णलाल भडेल आउने भएका छन् ।
ल्होसार कार्यक्रममा कोरोना महामारीको प्रभावलाई समेत मध्यनजर गर्दै स्वास्थ्य मापदण्डलाई अपनाउदै ल्होसार मनाउने तयारी गरिएको पनि संघका सचिव नारायण गुरुङले बताए । ‘कोरोना भाइरसको प्रभाव अझै कम नभइसकेको र पछिल्लो समय भर्खरै पनि नयाँ भेरियन्ट देखिएकोले त्यस प्रति सचेत रहदै हामी हाम्रो ठूलो पर्व ल्होसार मनाउछौ’ –उनले भने
संघले चितवनका गुरुङ समुदायलाई संगठित गर्दै हरेक वर्ष तमू ल्होसार मनाउदै आईरहेको छ । ल्होसारमा हरेक वर्ष पुष १५ मा ल्हो फेरिने अर्थात् नयाँवर्ष सुरु हुने विश्वासका साथ गुरुङ समुदायले प्रकृति र आफ्नो पितृको पूजागर्ने, ठूला बडाबाट आशिर्वाद लिने गर्दछन् ।
पत्रकार सम्मेलनमा संस्थाका निवर्तमान अध्यक्ष जगत बहादुर गुरुङ, निवर्तमान उपाध्यक्ष तुलाराम गुरुङ, वरिष्ठ उपाध्यक्ष शान्ति गुरुङ लगायतको उपस्थिति रहेको थियो ।