तनहुँ, ८ मंसिर । जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोटको अन्तिम समयमा आउट भएका तनहूँका गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङ अन्ततः प्रतिनिधिमा छनौट भएका छन्। उनलाई एमालेको १० औं महाधिवेशनको संघारमा केन्द्रीय कमिटिले महाधिवेशन प्रतिनिधिमा छनौट गरेको हो।
योसँगै सांसद गुरुङले न्याय पाएको महसुस गरेका छन्। नेकपा एमालेका तर्फबाट गण्डकी प्रदेशमा अत्याधिक मतका साथ निर्वाचित तनहूँ क्षेत्र नं १ ‘क’ का सांसद गुरुङलाई नेकपा एमालेको १० औं महाधिवेशन प्रतिनिधि छनोट गर्ने क्रममा जानाजान छनोट गरिएको थिएन । आफू जनजाति भएको, कार्यकर्ता र पार्टीका नेताहरु माझ पपुलर भएकोले केन्द्रीय सदस्य उठ्न सक्ने भनेर केन्द्रीय सदस्य एकबहादुर रानाले आफुलाई महाधिवेशन प्रतिनिधि बन्न नदिएको उनले आरोप लगाएका थिए।
तत्पश्चात नेकपा एमालेको केन्द्रीय कमिटीले उनलाई महाधिवेशन प्रतिनिधिमा छनोट गरेको छ । जिल्लाबाट निर्वाचित जनप्रतिनिधिलाई नै पार्टी भित्रबाट जालझेल गरि महाधिवेशन प्रतिनिधि बन्न बन्चित गरिएपछि रुष्ट रहेका कार्यकर्ताहरुले रामबहादुर गुरुङले न्याय पाएको बताएका छन्।
यसै बिषयमा सांसद गुरुङसग सम्पर्क गर्दा केही व्यक्तिले आफ्नो राजनितिक फाईदाको लागि मलाई महाधिवेशन प्रतिनिधि बन्न नदिने प्रपन्च रचे पनि जिल्लाका कार्यकर्ताको आावाज सुन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी केन्द्रीय कमिटीले न्याय दिदै महाधिवेशन प्रतिनिधि बनाएकोमा अझै कटिबद्ध भएर पार्टीको काममा खटिने उर्जा मिलेको बताए।