कुरिनटार, २ मंसिर । यतिबेला राजनैतिक दलहरु धमाधम गाउँ, नगर, प्रदेश र केन्द्रको महाधिवेशन गरिरहेको छ। को कुन पदमा छानिने निर्वाचित हुने भनी उम्मेद्वारी दिने र आफ्नो पक्षमा माहोल सिर्जना गर्ने भन्दै कार्यकर्ताहरुको चहलपहल बाक्लो देखिन्छ।
चितवनको इच्छाकामना गाउँपालिकामा पनि राजनैतिक दलको महाधिवेशनको चहलपहल चर्को छ। विशेषत एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस चुनावी चहलपहलले इच्छाकामना गाउँपालिका पनि गर्माएको छ। एमाले र नेपाली कांग्रेसले वडा र पालिकास्तरको अधिवेशन गरिसकेको छ भने माओवादी केन्द्रको पनि अधिवेशन सुरु हुने भैसकेको छ।
पछिल्लो समय भने नेपाली कांग्रेसको अधिवेशनले चुनावी चहलपहल बढाएको छ। यसपटकको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रीय, प्रदेश र जिल्लाको अधिवेशनमा इच्छाकामना गाउँपालिकाबाट डेढ दर्जन कांग्रेस कार्यकर्ता उम्मेद्वार बनेका छन्।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको एकमात्र स्थानीय तह इच्छाकामना गाउँपालिकाको अध्यक्ष गीता कुमारी गुरुङ कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला महिला तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार बनेका छन्।
उनीसँगै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्लाबाट राम बहादुर लामा र बासुदेव सिलवाल, खुल्ला महिला तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सावित्री गुरुङ, जनताती महिला तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा इन्द्रमाया लामा र जुना गुरुङले उम्मेद्वारी दिएका छन् भने जनजातीतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मान बहादुर मगरले उम्मेद्वारी दिएको छ।
प्रदेश महाधिवेशन प्रतिनिधीमा पनि बागमती प्रदेश अधिवेशन प्रतिनिधिको पदमा दिपक थापा मगर र भविश्वर गुरुङले उम्मेद्वारी दिएका छन् भने क्षेत्र नं. २ प्रदेश ‘क’ क्षेत्रीय कमिटिको विभिन्न पदमा ७ जनाले उम्मेद्वारी दिएको छ।
क्षेत्रिय कमिटिमा उम्मेद्वारी दिनेहरुमा सभापतिमा राजकुमार गुरुङ, सचिवमा कुम बहादुर गुरुङ र मणिकरत्न शाक्य, सह–सचिवमा श्रृजना देवकोटा र महेन्द्र थापा मगरका साथै सदस्यमा विष्णुहरी पौडेल र मुक्तिकुमार श्रेष्ठले उम्मेद्वारी दिएका छन्।
यसैगरी जिल्ला सदस्यमा माधव बहादुर घिमिरे, मोदराज सिलवाल र सावित्री पुडाशैनीले उम्मेद्वारी दिएका छन्।