Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

किसानका लागि किनिएको दुहुना जर्सी गाईमा जनप्रतिनिधीको रजाई, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष आफैले लगे

किसानका लागि किनिएको दुहुना जर्सी गाईमा जनप्रतिनिधीको रजाई, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष आफैले लगे

इच्छाकामना न्युज

१, मंसिर २०७८
किसानका लागि किनिएको दुहुना जर्सी गाईमा जनप्रतिनिधीको रजाई, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष आफैले लगे
images

काठमाडौं, १ मंसिर  । पालिकाका अगुवा कृषकलाई वितरण गर्न भन्दै हुम्लाको सर्केगार्ड गाउँपालिकाले खरिद गरेका तीनवटा दुहुना जर्सी गाई जनप्रतिनिधिले नै कब्जा गरेका छन् । साढे चार लाखमा खरिद गरिएका गाई पालिका अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोशी धामी र वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग शाहीले लगेका हुन् ।

images
images

अगुवा कृषक छनोट गरी उन्नत जातका गाई दिने भन्दै पालिकाले आर्थिक वर्ष ०७७/७८ को बजेटबाट पशुसेवा कार्यालयमार्फत् गत असारमा ती गाई खरिद गरेको थियो । पशुसेवा कार्यालय सर्केगार्डका प्रमुख छत्र शाहीले जुम्लाको दिदीबहिनी समूहसँग गाई किनेर ल्याएका थिए । प्रतिगाईको खरिद मूल्य एक लाख परेको र १५ दिन हिँडाएर जुम्लाबाट हुम्लासम्म पुर्‍याउँदा घाँस र दानामा प्रतिगाई ५० हजार खर्च भएको शाहीले बताए ।

‘खरिद मूल्य, १५ दिन हिँडाउँदा घाँस–दानामा भएको खर्च र ल्याउने व्यक्तिको होटेल खर्च जोड्दा प्रतिगाई डेढ लाख पर्‍यो । जुम्लाबाट सडकबाटो हिँडाएर मुगु हुँदै हुम्ला ल्याइएको हो । खरिदको भर्पाइ ल्याएपछि गाउँपालिकाबाट रकम भुक्तानी भएको हो,’ उनले भने, ‘पशुसेवा कार्यालय जुम्लाबाट स्वास्थ्य परीक्षण गराएर गाई ल्याएको हो । दैनिक सातदेखि नौ लिटर दूध दिने गाई हुन् ।’

गाई गाउँपालिकाको केन्द्र पुर्‍याउन नपाउँदै जनप्रतिनिधिले बाटैबाट आफ्ना घर लगेका थिए । चंखेली गाउँपालिका– ४ सल्लीसल्लाबाटै जनप्रतिनिधिले गाई लगेको स्रोतले बतायो । अध्यक्ष रोकायाले सर्केगार्ड– ८ राहदेवस्थित घरमा र उपाध्यक्ष धामीले पनि सर्केगाड– १ स्थित घरमा पालेर दूध खाइरहेका छन् । वडाध्यक्ष शाहीले पनि गोठीस्थित घरमै राखेका छन् ।

तर, वडाध्यक्ष शाही भने गाई अगुवा किसानका नाममा नकिनिएको दाबी गर्छन् । तराईमा पालिने जर्सी गाई आफूहरूको गाउँपालिकामा पाल्न सकिन्छ कि सकिँदैन भनेर ‘ट्रायल’का लागि ल्याइएको उनको दाबी छ । अरुलाई दिँदा दुरुपयोग हुनसक्ने भएकाले आफूहरूले नै गाई जिम्मा लिएको उनले बताए ।

‘पालिका पशुसेवा कार्यालयमार्फत् तीनवटा गाई किनेको सत्य हो । तर, किसानका लागि भनेर होइन, ट्रायलका लागि ल्याएको हो । जोसुकैलाई जिम्मा दिँदा दुरुपयोग हुन्छ भनेर ती गाई जनप्रतिनिधिले नै जिम्मा लिएको हो । मेरो जिम्मामा परेको गाई भाइलाई पाल्न दिएको छु, निगरानी गरिरहेको छु । अरुले के गर्नुभएको छ थाहा छैन,’ उनले भने, ‘यहाँ करोडौं खानेलाई कसैले केही भन्न सक्दैन, जाबो एउटा गाई ल्याउँदा विरोध गर्छन् ।’

पालिका अध्यक्ष रोकाया माओवादीबाट निर्वाचित हुन् भने उपाध्यक्ष धामीले एमालेबाट चुनाव जितेका हुन् । त्यस्तै, वडाध्यक्ष शाही कांग्रेसबाट निर्वाचित भएका हुन् । गाउँपालिकाले अगुवा कृषक छनोट नै नगरी गाई खरिद गरेको थियो । गाई आफ्नै घरमा लगेर ६ महिनादेखि दूध खाइरहेका जनप्रतिनिधिले अहिलेसम्म अगुवा कृषक छान्ने सुरसार गरेका छैनन् । आजको नयाँ पत्रिका दैनिकले खवर प्रकाशित गरेको छ ।

images
प्रकाशित मिति :मंसिर १, २०७८ बुधवार - ०९:४३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology