Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

हरिबोधिनी एकादशीमा आँबुखैरेनीको आँधिमूल सहित तनहुँमा जताततै मेला

हरिबोधिनी एकादशीमा आँबुखैरेनीको आँधिमूल सहित तनहुँमा जताततै मेला

images

न्युज कारखाना

२९, कार्तिक २०७८
हरिबोधिनी एकादशीमा आँबुखैरेनीको आँधिमूल सहित तनहुँमा जताततै मेला
images

तनहुँ, २९ कात्तिक । सोमबार हरिबोधिनी एकादशी तनहुँमा धुमधामका साथ मनाइएको छ । तुलसीसँग भगवान् दामोदर अर्थात् विष्णुको विवाह भएको स्मरण गर्दैै तुलसीको विवाह गरी मनाइने यस पर्वले तनहुँमा सोमबार रौनक थपिदियो । 

गत वर्ष कोरोना भाइरस संक्रमणको त्रासले सुनसान रहेका मठमन्दिर र नदी किनारमा यसपालि ब्रतालु भक्तजनको घुइँचो लाग्यो । मठमन्दिरसँगै रहेका नदी, पोखरीमा स्नान गरी पूजा अर्चना गर्ने र फूलको तोरण तार्ने भक्तजनको घुइँचो लागेको हो । 

आँबुखैरेनी गाउँपालिका वडा नं. १ मा रहेको आँधिमूल बराही मन्दिरमा आज बिहानै देखि दर्शनार्थीको घुइचो लाग्यो। सदा भन्दा यसपटक आँधिमूलमा झन् बढि दर्शनार्थी आएका थिए। चितवन, गोरखा, धादिङ, लमजुङ क्षेत्रका स्थानीयहरुको अत्याधिक भिड लागेको थियो।

एकादशीको उल्लास व्यास नगरपालिका- ९ मा रहेको सिद्देश्वर राजापानी महादेव मन्दिरमा बढी थियो । मन्दिरमा पूजापाठ गर्ने र तोरण तार्ने भक्तजनको घुइँचो लाग्यो । राजापानीमा सोमबार दिनभर ३१ वटा फूलको तोरण तारिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर थापाले बताए । उनका अनुसार गाउँगाउँबाट बाजागाजा र भजनकीर्तनसहित भक्तजन फूलका डोली लिएर तोरण तार्न आएका थिए । ‘जिल्लाबाट मात्र नभएर काठमाडौं, गोरखा, चितवन, कास्कीबाट पनि तोरण तार्न फूलको डोली लिएर आए’, उनले अगाडि भने, ‘गत वर्ष कोरोनाको त्रास भएकाले एकादशीमा हामीले रीत मात्र पूरा गर्‍यौँ । यसपालि मन्दिरमा पूजापाठ गर्ने र तोरण तार्नेको चहलपहल धेरै बढ्यो ।’

राजापानीमा १९९९ सालदेखि एकादशीमा तोरण तार्न थालिएको इतिहास छ । ‘सन्तान नभएकाले मन्दिरमा पूजा अर्चना गरेर तोरण तारेपछि  प्राप्ति हुने जनविश्वास छ । आँटे ताकेको काम पूरा हुने भएकाले एकादशीमा फूलको तोरण लिएर भक्तजन टाढाटाढाबाट आउँछन्’, थापाले सुनाए ।  राजापानीमा एकादशीको दिनमा १०५ वटासम्म तोरण तारिएको उनी बताउँछन् । 'पछिल्लो दशकमा भने तोरणको संख्या घटेर ४० को हाराहारीमा झरेको थियो । यसपालि अझै घट्यो । गाउँमा जनघनत्व पनि घट्दो छ । कोरोनाको त्रास कायमै रहेकाले होला पहिलेको तुलनामा केही कम भएको हो’, उनको ठम्याइ छ । व्यासको दमौली, सिसाघाट र गजौडेमा पनि एकादशीको रौनकले छोएको थियो ।

एकादशीको दिन मात्र विशेष मेला लाग्ने गर्छ आँबुखैरेनी गाउँपालिका- १ सत्र सयस्थित आँधीमूल मन्दिरमा । सोमबार आँधीमूल मन्दिर पनि भक्तजनले भरिभराउ भएको छ ।  मन्दिरमा भक्तजनले १४ फूलको तोरण ल्याएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रेशम भुजेलले बताए । मन्दिर आसपासका गाउँबाट फूलको डोली ल्याइएको हो । ‘भाकल राखेकाले मनोकांक्षा पूरा भएपछि एकादशीको दिन फूलको डोली लिएर आउने प्रचलन छ’, उनले भने ।

एकादशी मेलाका लागि प्रसिद्ध हो- शुक्लागण्डकी नगरपालिका ४ र ८ मा पर्ने पुल्चोकस्थित मुक्तेश्वर महादेव मन्दिर आर्थ शुक्ला हिलेटार धार्मिक क्षेत्र । सेती नदीको किनारमा रहेको यहाँको धार्मिक क्षेत्र एकादशीको दिन गुल्जार बने पनि एउटा मात्र तोरण तारियो । गणपतेका वृद्ध तेजप्रसाद सिग्देल यहाँ २० वटासम्म फूलका तोरण तारेको सम्झन्छन् । यसपालि एउटा तोरण तारेर एकादशीको शाख जोगाइयो ।  एकादशी मेला भर्न आएका केही सेतीमा स्नान गरेर पूजा अर्चना गरेको देखिन्थ्यो । धेरैजसो किनमेल र जुवाको खालतिर झुम्मिए । ‘विस्तारै आस्था घट्दो छ । अर्कोतर्फ ठाउँठाउँमा तोरण तार्न थालिएको छ । पहिला स्याङ्जाको केलादीमा कि यहीँ आएर फूल तार्ने चलन थियो’, सिग्देलले भने । पुल्चोकमा तनहुँसँगै स्याङ्जा र कास्कीका विभिन्न भूभागबाट एकादशी मेला भर्न आउँछन् । 

भिमाद नगरपालिका- ७ सिस्नेरीस्थित सेती नदी किनारमा एकादशी मेला भर्न आएका भक्तजनको घुइँचो साँझपखसम्म पनि थियो । यहाँ जिल्लाको दक्षिण भेगसँगै पाल्पाको रामपुर, नवलपुरको डेढगाउँ क्षेत्रबाट भक्तजन मेला भर्न आएका थिए । शुक्लागण्डकी- २ कोत्रेमा पनि सेती नदीमा एउटा तोरण तारिएको छ । शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको संगममा रहेको दोभान भने यसपालि फूलको तोरण तारिएन । यस्तै, प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा पनि बिहानैदेखि त्रिशूली नदीमा स्नान गर्न भक्तजनको घुइँचो लागेको थियो ।

एकादशीमा तार्ने तोरणमा बाबियोको लठ्ठामा सयपत्री, गोदावरी, मखली फूलको माला गाँसेर हालिन्छ । तोरणमा डालो, डोको, ऐना, काइँयो र रिवन राखेर सजाइएको हुन्छ । 

images
प्रकाशित मिति :कार्तिक २९, २०७८ सोमवार - २२:२७:३५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology