Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

किर्ते जग्गा धितो राखी कर्जा लगानी गरेको काण्ड पछि कुमारी बैंकका सिइओ अनुजमणि तिमिल्सीना र डेपुटी सीइओ मनिष तिमिल्सीना एकाएक गायब

किर्ते जग्गा धितो राखी कर्जा लगानी गरेको काण्ड पछि कुमारी बैंकका सिइओ अनुजमणि तिमिल्सीना र डेपुटी सीइओ मनिष तिमिल्सीना एकाएक गायब

इच्छाकामना न्युज

२८, कार्तिक २०७८
किर्ते जग्गा धितो राखी कर्जा लगानी गरेको काण्ड पछि कुमारी बैंकका सिइओ अनुजमणि तिमिल्सीना र डेपुटी सीइओ मनिष तिमिल्सीना एकाएक गायब
images

काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गा किर्ते गरी किर्ते कागजका आधारमा १९ करोड ऋण प्रवाह गरेको प्रकरणमा नाम मुछिएका बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीना एकाएक आइतबार दिउँसो बैंकबाट नै 'गायब' भए । कसैलाई केहि नभनी बैंक छोडेर हिंडेपछी कतिपयले उनी भागेको भन्दै चर्चा गरे ।

images
images

सीआइबीले बैंकसँगको मिलेमतोमा तल्लो तहका कर्मचारी पक्राउ गरेर घटनाका मुख्य योजनाकारका सबैभन्दा नजिकका व्यक्ति रहेका तिमिल्सीनालाई भने प्रभावमा परेर पक्राउ नगरेको चर्चा चलिरहेका बेला र घटना अनुसन्धानकै क्रममा रहँदासमेत विभिन्न मिडियामा सीआइबीकै हवाला दिंदै उच्च तहका कर्मचारीको संलग्नता नरहेको भन्ने समाचार आएपछी सीआइबीको अनुसन्धानमा पनि प्रश्न उठेको चर्चा यतिबेला बैंकिङ क्षेत्रमा छ ।

यहि चर्चाका बीच सीआइबीलाई पनि उनीमाथि अनुसन्धान गर्न दबाब परेको थियो । सीआइबीले आफ्नो साख जोगाउन भएपनि आफुलाई पक्राउ गरेरै अनुसन्धान गर्ने तयारी भएको चर्चा बजारमा चलेपछि आइतबार ढिलो गरी बैंक पुगेका तिमिल्सीना बैंकमा उनी आफैंले तय गरेका बैठकहरुसमेत छोडेर फोन अफ गरी बैंक छोडेपछी अनेक प्रश्नहरु उब्जिएको छ।

कतिपयले पक्राउ परेपछी हिरासत नबस्नुपर्नेगरी मेडिकल कागज बनाउन उनी अस्पताल गएको चर्चासमेत गरेका छन् । तर सीआइबीका सूचना अधिकारीले भने उनी पक्राउ परेको जानकारी आफुलाई नभएको बताएका छन् । तिमिल्सीना आइतबार करिब ११ बजे ढिलोगरी बैंक पुगेका थिए ।

बैंक पुगेर उनले दिउँसो तय गरिएका बैठकहरुबारे आफ्नो टिममा समय बारे समेत बुझेका थिए । तर यो बीचमा उनीसँग समय लिएर उनलाई भेट्न गएकाहरुले पनि उनलाई भेट्न पाएनन् । किनकि उनी बैंक छोडेर, फोन अफ गरेर बाहिरिएका छन् ।

तिमिल्सीनाका कार्यालय सचिवले समेत तिमिल्सीनाले आफुलाई केहि पनि नबताई हिंडेको बताएकी छिन् । 'अघिसम्म यहीं हुनुहुन्थ्यो । अरुबेला कहाँ जान लागेको कुरा भनेर जानुहुन्थ्यो । आज केहि पनि खबर नगरी हिड्नुभएको छ । अव उहाँ अफिस सायद आउनुहुँदैन भन्ने सुनेको छु ।'

कार्यालय सहयोगीले अर्थ सरोकारसँग भनिन्, 'उहाँको फोन पनि अफ छ।' पक्राउ परेर हिरासत बस्नुभन्दा बिरामी छु भनेर अस्पताल बस्न पाइने भन्दै उनले सोहि अनुसारको तयारी गरेको चर्चा यतिबेला बैंकमा छ । यता बैंकका कामु सीइओ तिमिल्सीनाले भने आफु नभागेको दाबी गर्दै अस्पताल आएको भने स्वीकारेका छन् ।

'विहान अफिस पुगेको थिएँ । म यसै पनि प्रेसरको बिरामी छु । ज्यानलाई अलि बिसन्चो भएपछी डाक्टरलाई फोन गरें। डाक्टरले अहिले नै आउनु, नत्र मर्छस्' भनेपछि अहिले गङ्गालाल अस्पतालमा छु । आज अफिस जान्न ।' अर्थ सरोकारसँग उनले भने, 'सकें भने भोलि अफिस जान्छु, नत्र पर्सि जान्छु।'

यता यस प्रकरणमा अनुसन्धानको घेरामा परेका भनिएका बैंकका डेपुटी सीइओ मनिष तिमिल्सीना पनि बैंकको सम्पर्कमा छैनन् । उनी आइतबार कार्यालय नै नआएको बुझिएको छ । हाल उनको फोन अफ छ ।

यद्यपी उनी कार्यालयमा भए-नभएको विषयमा भने कुरा बाझिएको छ । बैंकका कर्मचारी उनी आइतबार बैंकमा नआएको बताउँछन् भने बैंकका सीइओ तिमिल्सीना डेपुटी सीइओ मनिष तिमिल्सीना आइतबार बैंकमै रहेको दाबी गर्छन् ।

यद्यपी अर्थ सरोकारलाई उनीहरु दुवैजना बैंकमा नभएको र उनीहरुको कुर्सी खाली रहेको तस्विर प्राप्त भएको छ। के उनलाई पक्राउ गर्न नै लागिएको हो त ? हामीले यो प्रश्न सीआइबीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोलाईसमेत सोधेका थियौं । हाम्रो प्रश्नमा उनले पक्राउ गर्न लागिएको हो वा होइन भन्ने कुरा मिडियालाई बताउन नमिल्ने बताए ।

'फलानो पक्राउ पर्दैछ भन्ने कुरा मिडियालाई भन्ने कुरा हुन्न । यसरी त मान्छे भागिहाल्छ नि । तर जहाँसम्म मलाई जानकारी छ, उहाँविरुद्ध अहिले पक्राउ पूर्जी जारी भएको छैन ।'

सो प्रकरणमा अहिले बैंकका कनिष्ट कर्मचारी सोनु ठाकुर हिरासतमा छन् । यो प्रकरणमा सीइओलाई पक्राउ नै नगरी अनुसन्धान गरेकोबारे सीआइबीको समेत चौतर्फी आलोचना भईरहेको छ । ठुलालाई बचाएर सानालाई फसाई घटना सामसुम पार्न खोजेको आरोपसमेत सीआइबीलाई चौतर्फी लागेको छ ।

सधैं आफ्नो काममा अब्बल रहेको प्रमाणित गर्दै आएको सीआइबी यस्तो ससानो प्रकरणमा विवादमा तानिनु हुँदैन र तिमिल्सीना लगायतका कर्मचारीहरुलाई पक्राउ गरी अनुसन्धान हुनुपर्छ भन्ने आवाज प्रहरीभित्रै पनि उठेको स्रोत बताउँछ। अर्थ सरोकार डटकमबाट

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - २२:२८:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology