Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मातृभाषा–कविता

मातृभाषा–कविता

अमर गिरी

१६, आश्विन २०७८
मातृभाषा–कविता
images

बाँझो खेतझैं लाग्ने
कागजका खाली पानाहरुमा
कसरी चिप्लन्थ्यो
मेरो कलमको निब
कसरी थिच्थे मेरा औंलाहरुले
कम्प्युटरको किबोर्ड
पोखिएझैं बिहानको घाम
हिमालभरि
पहाडभरि
फाँटभरि
कसरी पोखिन्थें म
कविताका प्रिय हरफहरुमा ?

images
images

कसरी आकार दिन्थें म
मेरा सपनाहरुलाई
कसरी भर्थे म
तिनमा प्राण
कसरी रचना गर्थे म 
एक नयाँ संसार
पट्ट फुटेझैं गर्भिणी धर्ती
नयाँ सिर्जनामा
कसरी फुट्थें म
नयाँ नयाँ रचनाहरुमा
कसरी भन्थें म
आफ्ना सुख–दुखका कथा
कसरी रुन्थें दुखमा
र खुसीमा हाँस्थें ?

कसरी वाणी दिन्थें म
प्रेमका अमर गीतहरुलाई
आफ्नो हृदयको बोझलाई टक्टक्याएर
कसरी हलुङ्गो हुन्थें म
र रातमा निदाउँथें
ओ मेरो मातृभाषा
भन त
तिमी हुन्नथ्यौ भने
के हुन्थें म 
कसरी रचना गर्थें आफ्नो अस्तित्वको
यो धरामा 
कहाँ हुन्थें म ? 
०००

images
प्रकाशित मिति :आश्विन १६, २०७८ शनिवार - ०८:२३:३३ बजे

अमर गिरी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology