Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोभिडको मारमा परेका चितवनका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेसँगै उत्साहित

कोभिडको मारमा परेका चितवनका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेसँगै उत्साहित

रासस

११, आश्विन २०७८
कोभिडको मारमा परेका चितवनका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेसँगै उत्साहित
images

चितवन, ११ असोज । लामो समयदेखि कोभिड– १९ को मारमा परेका यहाँका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले उनीहरू उत्साहित भएका हुन् ।

images
images

यहाँका पर्यटकीय होटल अहिले माडवारी समुदायको विवाहका लागि बुक हुन थालेका छन् । प्रमुख पर्यटकीय गन्तव्य सौराहामा दैनिक सात सय हाराहारीमा पर्यटक आउन थालेका र बैठक तथा गोष्ठीका बेला यो सङ्ख्या थप हुने गरेको छ । क्षेत्रीय होटल सङ्घका जिल्लाअध्यक्ष दीपक भट्टराईले भन्नुभयो, “होटलका १५ देखि २० प्रतिशत कोठा बुकिङ हुन थालेका छन् ।” सौराहाका होटलमा पाँच हजार ५०० हाराहारी कोठा छन् । “हाल यहाँ अधिकांश नेपाली पर्यटक आएकामा केही भारतीय र युरोपेलीसमेत छन्”, उहाँले थप्नुभयो “यसबाट हामी उत्साहित छौं ।”

सङ्घका पूर्व अध्यक्ष एवं जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार सेप्टेम्बर र अक्टोबर महिनामा गोष्ठीका कार्यक्रम बढी हुने गरेको छ । उहाँले भन्नुभयो, “अधिकांश होटलमा यस्ता कार्यक्रम भइरहेका छन् ।” सरकारले अनएराइभल भिसा दिने भएसँगै पाकिस्तान, स्वीजरल्याण्ड, बेलायत र अमेरिकाका पर्यटकले सोधपुछ गर्ने गरेको सञ्चालक घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय पर्यटकले पनि सोधपुछ गरिरहेका छन् । कोभिडको रेडजोनबाट नेपाल हटेमा पर्यटकको सङ्ख्या झन बढ्ने देखिन्छ ।”

सौराहाको होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रबार र शनिबार आन्तरिक पर्यटक र अन्य दिनमा गोष्ठीलगायतका कार्यक्रम हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “आज पनि मेरो होटलमा कोठा खाली छैन । केही मात्रामा विदेशी पर्यटकसमेत आउन थालेका छन् । ” आउँदो महिना माडबारी समुदायको चार वटा विवाहका लागि होटल बुकिङ भइसकेको अधिकृत गिरीले जानकारी दिनुभयो ।

पटिहानीस्थित होटल जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलले अबका दिनमा पर्यटकीयस्थल पूर्ववत् अवस्थामा फर्किने विश्वास व्यक्त गर्नुभयो । पछिल्ला दिनमा पर्यटक आगमन उत्साहजनक रुपमा वृद्धि भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “कोभिड पुनः बढेन भने पर्यटक आउछन् भन्नेमा हामी विश्वस्त छौं ।”

चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहा पर्यटकका लागि महत्वपूर्ण गन्तव्य हो । यहाँ आउने अधिकांश पर्यटक जङ्गल सफारी गर्न रुचाउँछन् । निकुञ्जभित्रको जङ्गल सफारीबाहेक अन्य गतिविधि खुला भइसकेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जभित्र तीन चार दिनमा मर्मत गरेर यसै साताबाट जीप सफारी खोल्ने तयारीमा लागेको बताउनुभयो ।

हाल निकुञ्ज आसपासका सामुदायिक वनमा जीप सफारी भइरहेको छ । बरालले भन्नुभयो, “अब चितवनमा पर्यटकको सङ्ख्या राम्रो बढ्नेछ ।” पर्यटन विज्ञ डा विश्व सुवेदीले विगतको भन्दा अझै धेरै पर्यटक अब दिनमा आउने अपेक्षा गर्नुभयो । कोरोनका कारण दैनिक रु एक करोड ५० लाखभन्दा बढी यहाँका पर्यटकीय होटलले गुमाएको भन्दै उहाँले अबको समय राम्रो हुने बताउनुभयो ।

सरकारले हवाईसेवा दिन सकेमा नेपालमा विदेशी पर्यटक धेरै आउने डा सुवेदीको भनाइ थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले यसका लागि होटल व्यवसायी तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो ।

जिल्लाको सौराहा, पटिहानी, जगतपुर, मेघौली र भरतपुरमा गरी २२५ पर्यटकीय होटल छन् । चितवन नेपालकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहा निकुञ्जभित्रको राप्ती नदी नदी किनारमा पर्यटकीय होटल छन् । यहाँ आउने पर्यटक जङ्गल सफारीमा रमाउने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोहीलगायत वन्यजन्तु, वनस्पति, चरा, पुतली अवलोकन गर्नको सङ्ख्या पनि उत्तिकै छ । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा पर्यटकले हात्ती, जीप, पैदल सफारी गर्ने गर्दन् । यहाँको थारु समुदायको खाना र संस्कृति पर्यटकको रोजाइँमा पर्छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - १९:०५:०२ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology