आशिषकुमार भट्ट, गोरखा, ११ असोज । कोभिड र भाइरलका बिरामी बढ्न थालेपछि गोरखाका विद्यालयहरु धमाधम बन्द हनु थालेका छन् ।
गोरखा नगरपालिकाको मनकामना बहिरा मावि, गोनपा १को जनज्योती मावि, सिरानचोकको जनज्योती मावि कोभिड र भाइरलका बिरामी बढेपछि बन्द भएका हुन् । नगरपालिकाकै विन्ध्यावासिनि माविका दुई शिक्षकमा पनि कोभिड पुष्टि भएको छ तर सो विद्यालय भने सञ्चालनमै छ ।
गत बिहिवार शिक्षक र विद्यार्थी गरी २६ जनाको पिसिआर जाँचका लागि पठाइएकोमा पाँच जनाको रिपोर्ट पोजेटिभ आएको सिरानचोक ८ चिप्लेटीका प्रधानाध्यापक बेद शर्माले बताए । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि तत्कालका लागि विद्यालय बन्द गरिएको छ ।
मौसम परिवर्तन भएसँगै गोरखाका विद्यालय र अस्पतालमा बिरामीको संख्याबढ्दै गएको छ । कोभिड र भाइरल फ्लुका बिरामीको संख्या बढ्न थालेको हो ।
गएको हप्तादेखि दिनहुँ एक सय ५० जना भन्दा माथि भाइरलका बिरामीहरु आउने गरेका अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
‘मौसम परिवर्तनले गर्दा अहिलेको यो तापक्रम भाइरसको लागि राम्रो रहेकोले धेरै बिरामी पर्छन् । कुनै दिन दुईसय जनासम्म भाइरलका बिरामी आएको तथ्यांक छ’, ढकालले भने । अस्पतालमा आएका सबैको कोभिड १९ को परीक्षण गरिएको र पोजेटिभ परिणाम आउने दर भने धेरै कम रहेको अस्पतालले जनाएको छ ।
भाइरललाई हेलचेक्र्याइँ गरेमा निमोनिया तथा छाती सम्बन्धी समस्या हुन सक्ने बरिष्ठ हेल्थ असिस्टेन्ट ढकालले बताए । यसबाट बच्नको लागि तातोपानी पिउने, माक्सको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, तातो झोलिलो पदार्थ बढी मात्रामा पिउनुपर्ने उनको सुझाब छ ।
यदि कोहि कसैलाई भाइरल लागेको थाहा भएमा सकेसम्म उसलाई छुट्टै राख्ने, उसले प्रयोग गरेको कपडा तथा सरसामानहरु अरुले प्रयोग नगर्ने र गर्न नदिने गरिएमा यसबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।