कुरिनटार, ३ असोज । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको लहर देशव्यापी व्यापक चलिरहेको छ। जसअन्तर्गत धेरै जसो जिल्लाहरुको वडा अधिवेशन सकिसकेको छ। चितवनमा पनि भदौ २१ गते वडा अधिवेशन सकियो।
वडाअधिवेशन सकिएसँगै पालिकास्तरीय अधिवेशनका लागि यतिबेला स्थानीय तहमा उम्मेद्वारी घोषणा गर्ने क्रम चलिरहेको छ। चितवनको इच्छाकामना गाउँपालिकाको सभापतिको लागि पनि आकांक्षीहरुले उम्मेद्वारी घोषणा गर्न थालेका छन्।
यहि क्रममा भदौ २६ गते इच्छाकामना गाउँपालिकाको नेपाली कांग्रेस सभापतिमा विष्णु कुमार कुँवरले उम्मेद्वारी घोषणा गरेका छन्। नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ, तरुणदल हुदै विभिन्न विभागमा जिम्मेवारी सम्हाल्दै २०६६ त्रियासिल सदस्य लिई राजनितिमा आएका हुन् कुँवर। २०६४ सालमा संविधान सभा निर्वाचनमा तात्कालिन चण्डि भञ्ज्याङ गाविसको चुनाव प्रचार समितीमा रहेका कुँवर २०६७ सालमा नेपाली कांग्रेसको तात्कालिन चण्डिभञ्ज्याङ गाउँकमिटिको सचिव भएका थिए।
नेपाली कांग्रेसको १२ औ महाधिवेशनको क्रममा २०७१ सालमा कार्यवाहक सभापति समेत भएका उनी २०७२ सालमा सम्पन्न कांग्रेसको १३ औ अधिवेशनबाट चण्डिभञ्ज्याङ गाविसको पार्टी सभापतिमा निर्वाचित भएका थिए।
सोही क्रममा चितवनका ४ वटा पहाडी गाविसहरु मिलेर इच्छाकामना गाउँपालिका भएपछि भएको २०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिका स्तरीय पार्टी संयोजक बनेर उनले पार्टीका उम्मेद्वारहरुलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
चितवनको ७ वटा स्थानीय तहमध्य ६ वटा स्थानीय तहको नेतृत्व कांग्रेसले गुमाईरहदा इच्छाकामना गाउँपालिकामा पार्टी उम्मेद्वारलाई जिताएर जिल्लामा कांग्रेसको साख जोगाउन उनले राम्रै कसरत गरेका थिए।
यद्यपी २०७६ सालमा पार्टी कमिटि समायोजन गर्ने क्रममा उनले सभापति पद पाउन सकेन। उनलाई पछि आमन्त्रित जिल्ला सदस्यको रुपमा मनोनित गरेको थियो।
आफुले पार्टीलाई जिताउनका लागि निरन्तर पार्टीमा सबै भुमिका निर्वाह गरेको र सबैलाई एकढिक्का पारेर लैजान सक्ने भएकोले यसपटक पार्टी सभापतिमा उम्मेद्वारी दिन लागेको उनले बताए। ‘पार्टी सभापति चलाउनका लागि उपयुक्त उम्मेद्वार हुँ म, मेरो काम कस्तो छ भन्ने आम कार्यकर्ताले देखिसकेका छन् यसैले पनि मलाई सभापतिमा कार्यकर्ताले निर्वाचित गराउछन् भन्नेमा म ढुक्क छु’ –उनले भने।
कुँवर नेपाली कांग्रेसको २१ गते सम्पन्न वडा अधिवेशनमा इच्छाकामना गाउँपालिकाको ५ नं. वडाबाट १४ औ अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भैसकेका छन्। कांग्रेसको पालिका स्तरीय अधिवेशन यहि असोज ९ गते शनिबार हुदैछ।