गोरखा, २९ भदौ । जनता समावजादी पार्टी (जसपा) गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट चयन भएका छन् । गोरखा नगरपालिका १ ताप्ले घर भएका उनी द्वन्द्वकालमा माओवादीमा आवद्ध थिए । केही समय राजनीतिमा सक्रिय नरहेका उनलाई सोमबार जसपाका जिल्ला अध्यक्ष चयन गरिएको हो ।
यसअघिका जसपा गोरखाका अध्यक्ष रहेका नारायण खत्रीले भट्टलाई सोमवार सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईको उपस्थितिमा पदहस्तान्तरण गरेका हुन् । संगठन सुदृढ तथा जनजागरण (सुज) अभियानको उद्घाटन गर्न डा. भट्टराई गोरखा आएका थिए ।
सोही कार्यक्रममा भट्टलाई जसपा गोरखाको अध्यक्षमा चयन गरिएको हो । पूर्व अध्यक्ष नारायण खत्री संघिय परिषद सदस्य छन् । भट्टले अब आफु सक्रिय राजनीतिमा फर्किएको बताउँदै भने, ‘अग्र भागमा बसेर काम गर्ने योजना सहित आएको छु, गोरखामा जनता समावजादी पार्टीलाई मजवुत बनाउने गोरखालाई संगठित गर्ने, जनताको सेवा गर्ने सपना छ ।’
जसपाले सुज अभियान जिल्लाब्यापी चलाउने भएको छ । गोरखाको चारवटै प्रदेश निर्वाचन क्षेत्रमा उक्त अभियान संचालन गर्न टिम बनाइएको छ । क्षेत्र नम्बर १ को ‘क’ मा गोपालबाबु श्रेष्ठ ‘ख’ मा रोहित पाण्डे, क्षेत्र नम्बर २ को ‘क’ मा अमृत आचार्य, ‘ख’ मा दुर्गा न्यौपाने नेतृत्वको टोलीले संगठन सुदृढिकरण अभियान संचालन गर्नेछन् ।