मुग्लिन, २६ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा वडा अधिवेशन सकिएसँगै पालिका अधिवेशनको लागि प्रतिस्पर्धा सुरु भएको छ। नेपाली कांग्रेस चितवनको शुक्रबार बसेको बैठकले जिल्लाका सबै पालिका भदौ ३० गते पालिका स्तरीय अधिवेशन गर्ने निर्णय गरेको छ। सोहि बमोजिम पालिका स्तरीय सभापतिमा आकांक्षीहरुले धमाधम उम्मद्वारी घोषणा गर्न थालेका छन्।
सोहि बमोजिम चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको सभापति पदका लागि नेपाली कांग्रेस इच्छाकामनाका पूर्व सभापति विष्णु कुँवरले आज बिहान उम्मेद्वारी घोषणा गरेको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा प्रचार सामाग्री राख्दै इच्छाकामना गाउँपालिकाको पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गरेको हो।
योसँगै नेपाली कांग्रेस इच्छाकामनाको सभापतिमा दुई जना बिच प्रतिस्पर्धा हुने देखिएको छ। हाल नेपाली कांग्रेस इच्छाकामनाका सभापति रहेका कृतिकुमार श्रेष्ठले पनि आफु पुनः सभापतिमा दोहोरीने आंकक्षा गरि त्यहि अनुसार तयारीहरु थालिसकेका छन्।
हालका सभापति श्रेष्ठ गाउँपालिकाका उपाध्यक्ष समेत हुन् भने कुँवर नेपाली कांग्रेस इच्छाकामनाको पूर्व सभापति समेत हुन्।
