यही २०७८ भाद्र २४ गते आँबुखैरेनीमा विमोचन हुने कवि अनिल श्रेष्ठको ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहमा रहेको कविता ‘विमल निभा’ पाठकहरु समक्ष प्रस्तुत गरेका छौं ।
विमल निभा
कवि हो ऊ
जसको नामसँग सिंहदरबारलाई
कुनै रुचि छैन
विमल निभा
कविता लेखिरहन्छन्
जुलुसको
आन्दोलनको
क्रान्तिको
विद्रोहको
विमल निभा
कविता लेखिरहन्छन्
भोकको
अनिद्राको
पीडाको
छटपटीको
विमल निभा
कविता लेखिरहन्छन्
रिक्सा मजदुरको
ट्याक्सी चालकको
खेतका किसानको
सधैं लेखिरहन्छन्
अमलेख
सत्ताका विसङ्गतिहरुसँग
उनका कविताहरुको
विमति छ
विमल निभा
प्रेम गर्छन् यो मुलुकलाई
र यो मुलुकका नागरिकहरुलाई
र उत्तिकै घृणा गर्छन्
यो मुलुकका व्यभिचारी
शासकलाई
विमल निभा
जब सडकमा उभिन्छन्
हातमा बोकेर आन्दोलनको
एउटा प्लेकार्ड
सत्तालाई लाग्छ–
विमल निभा एउटा द्रोह हो
यो राज्यका लागि
सिंहदरबारलाई सधैं
अप्रिय लाग्छ विमल निभाको नाम
आजकल
म यतिबिध्न प्रेमले
विमल निभाका कविताहरु पढ्न
किन थालिरहेको छु हँ रु
०००