चितवन, २३ भदौ । भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालले चार महिनाभित्र पैसा तिर्ने कागज गरेपछि युवतीको शव परिवारलाई दिएको छ । मंगलबार साँझ मृतक परिवारले चार लाख १९ हजार रुपैयाँ तिर्ने कागजी सम्झौता गरेपछि मात्र अस्पतालले शव दिएको हो ।
उपचारकै क्रममा सोमबार बिहान करिब ३ बजे मृत्यु भएकी गोरखा नगरपालिका–७ की २१ वर्षीया भक्तिमाया खत्री (रश्मि)को उपचार खर्च नदिएको भन्दै अस्पतालले परिवारलाई शव दिएको थिएन । अहिलेसम्म विभिन्न अस्पतालमा गरेर खत्रीको उपचारमा नौ लाख रुपैयाँ खर्च भएको परिवारको अनुमान छ । यसअघि मेडिकल कलेजको फार्मेसी र अस्पतालमा गरेर परिवारले तीन लाख ८० हजार रुपैयाँ बुझाएको थियो ।
मृतककी आमा बुद्धिमाया खत्रीले छोरीको उपचारका लागि भनेर कानको मुद्रा र घाँटीको सिक्री पनि बिक्री गरेकी थिइन् । ‘पहाडको ठाउँमा ११ हातको जग्गा छ । भन्नेबित्तिकै बिक्री पनि हुँदैन । कानको सुन र घाँटीको सिक्री बेचेर साढे तीन लाख रुपैयाँ अस्पतालमा बुझाएँ । छोरी बचाउन नसकेको अस्पतालले शव दिएन गाह्रो मान्यो,’ उनले भनिन् ।
असार अन्तिम साता टाउको दुख्ने, रिंगाटा लाग्ने र बान्ता हुने समस्या भएपछि रश्मिलाई गाउँकै सामान्य मेडिकल कलेजमा लगिएको थियो । दुई–तीन दिन औषधि सेवन गर्दा पनि उनलाई निको भएन । त्यसपछि साउन पहिलो साता आफन्तको सहयोगमा उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लगियो । घाँटी र टाउकोमा समस्या भएको भन्दै अस्पतालले केही औषधिसहित उनलाई घरमै आराम गर्न भनेर पठायो । त्यसको केही दिनमा थप चेकजाँच गर्न उनलाई भरतपुरको नारायणी सामुदायिक अस्पतालमा ल्याइयो ।
सिटिस्क्यान गरेर अस्पतालले उनलाई सबै ठिक रहेको बतायो । यद्यपि खत्रीको स्वास्थ्यमा भने सुधार भएन । ‘चिकित्सकले रोग पत्ता नलगाएपछि परिवारले धामी, झाँक्री र झारपुकमा लग्यो,’ मृतककी दिदी निशाना खत्री श्रेष्ठले भनिन्, ‘बहिनीलाई धेरै गाह्रो भएपछि भरतपुर अस्पताल ल्यायौँ । अस्पतालले उनको अवस्था जटिल भएको र आइसियू नभएको भन्दै अर्को अस्पताल लैजान भन्यो ।’
१९ साउनदेखि रश्मिको उपचार कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा भएको थियो । लामो समयसम्म उपचार हुँदा पनि चिकित्सकले रोग नै पत्ता नलगाई उनको २१ भदौ बिहान मृत्यु भयो । आमा बुद्धिमायाले चिकित्सकले टिबी, निमोनिया, छारे रोग भन्दै विभिन्न औषधि खुवाएको बताइन् । ‘उपचारका लागि ल्याएको मेरो छोरीको अस्पतालले राम्रोसँग उपचार पनि गरेन । अस्पतालले हेरचाह नगर्दा उनको शरीरमा थप समस्या आयो,’ बुद्धिमायाले भनिन्, ‘आइसियूमा मेरो छोरीको बेडमा कमिला हिँड्थ्यो, पैसा तिर्न सक्दैन भनेर हो कि धेरैपटक अस्पताल प्रशासनमा भन्दा पनि कसैले सुनेन ।’ यस विषयमा अस्पताल प्रशासनसँग बुझ्न खोज्दा जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपाने सम्पर्कमा आउन चाहेनन् ।
छोरोका मृत्युको पीडा त छँदै छ बुद्धिमायालाई अब कागज गरेको पैसा कसरी समयभित्रै तिर्ने भन्ने चिन्ता पनि छ । रश्मिलाई बचाउन भन्दै गाउँलेले समेत चन्दा उठाएर पठाएका थिए । खत्रीको परिवार दैनिक ज्याला–मजदुरी गरेर जीवन गुजारा चलाउँछ । नयाँ पत्रिका दैनिकबाट