तनहुँ, १८ भदौ । नेकपा एकीकृत समाजवादी तनहुँको अध्यक्षमा शंकरनारायण श्रेष्ठ चयन भएका छन । शुक्रबार दमौलीमा सम्पन्न भेलाले साविक नेकपा एमालेको समानान्तर जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीमा रुपान्तरण भएको छ ।
यस्तै सचिवमा श्रीराम कार्की रहेका छन । यसअघि कार्की नेकपा एमालेको व्यासनगर अध्यक्ष थिए । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य प्रतापलाल(पीएल) श्रेष्ठ, प्रतिनिधि सभा सदस्य एवं केन्द्रिय सदस्य कलिला खान र चुडामणि जंगलीको उपस्थितिमा शुक्रबार सम्पन्न भेलाले यसअघि गठन भएको समानान्तर जिल्ला, भ्रातृ संगठन तथा सबै एकाइलाई पार्टी कमिटीमा रुपान्तर गरेको सचिव कार्कीले बताए ।
नेकपा एकीकृत समाजवादीको व्यासनगर अध्यक्षमा मंगलप्रसाद श्रेष्ठ, भानुको अध्यक्षमा ऋषि पन्थ, भिमादको अध्यक्षमा काजिमान श्रेष्ठ तथा शुक्लागण्डकीको अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
यसैगरी ऋषिङको अध्यक्षमा भुपाल आले, घिरिङको अध्यक्षमा दिपक खाती, देवघाटको अध्यक्ष जगन्नाथ श्रेष्ठ, म्याग्देको अध्यक्षमा विष्णु श्रेष्ठ र आँबुखैरेनीको अध्यक्षमा मुकुन्द अधिकारी चयन भएका छन ।