उषा तामाङ, काठमाण्डौ, १८ भदौ । अघिल्लो वर्षको तुलनामा गत वर्ष गलैचा निर्यातमा वृद्धि भएको व्यापार तथा निकासी प्रर्बद्धन केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा ६ अर्व १५ करोड ७७ लाख ६ हजार रुपैयाँको गलैचा निर्यात भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा १७ दशमलव ६ प्रतिशले बृद्धि भएर७ अर्व २४ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको उनी गलैचा निर्यात भएको केन्द्रका उपनिर्देशक राजेन्द्र सिँहले बताउनुभयो । कोरोनाका कारण नेपालको व्यापार, व्यवसाय, रोजगारी ठप्प भइ आर्थिक तथा व्यवसायिक काम अघि बढ्न नसके पनि गलैचा उत्पादन र निर्यातमा असर नगरेको उपनिर्देशक सिंहको भनाइ छ ।
घरमै बसेर र कारखानामा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गलैचा बुन्न सकिने भएकाले कोरोनाले असर नगरेकाले निर्यात बढेको हो । गलैचा कारखाना क्षेत्र भित्रै बसोबास गर्ने भएकाले गलैचा बुनाई नरोकिएको श्याममाया तामाङले बताउनुभयो । तर गलैचा बुन्ने श्रमिकहरुले काम अनुसारको दाम नपाएको गुनासो गरेका छन् । कोरोनाका कारण ज्याला नबढेको सिन्धुपाल्चोकका छेसाङ तामाङले गुनासो गर्नुभयो ।
नेपालमा १ हजारभन्दा धेरै गलैँचा उत्पादन गर्ने कारखाना दर्ता छन् । ती मध्ये ५ सयले नियमीत निकासी गर्छन् । नेपालमा उत्पादित उनी गलैचा अमेरिका, चाइना, अष्ट्रेलिया, जर्मनी लगाएतका देशमा निर्यात हुने गर्छ । नेपालबाट पहिलो पटक सन् १९५४ मा स्वीटजरल्याण्डमा गलैचा निर्यात गरिएको थियो ।
तिब्बतका नागरिक नेपाल आएका बेला गलैचा बुनेको देखेपछि नेपालीले पनि गलैचा बुन्न सिकेको बताइन्छ । नेपालको उनी गलैचा सबै भन्दा बढी निर्यात हुने गर्छ ।