कुरिनटार, १७ भदौ । चितवनको इच्छाकामना गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित भएका सबै जनप्रतिनिधिहरु एमालेमै रहेको घोषणा भएको छ। जनप्रतिनिधीहरुले आज एक विज्ञप्ती जारी गर्दै आफुहरु सबै एमालेमै रहेको र एमाले विभाजन भएर बनेको नवगठित नेकपा एकिकृत समाजवादी पार्टीमा नजाने घोषणा गरेको हो।
उनीहरुले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर आफुहरुले नेकपा एमाले पार्टी मै रहने बताएको हो। स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिकामा तात्कालिन समयमा एमालेले ३ वटा वडामा जित हासिल गरेको थियो। जसमा वडा नं. १ को वडाध्यक्षमा नन्दलाल गिरी, वडा सदस्यहरुमा प्रेम बहादुर प्रजा, अन्जु चेपाङ र विकाश चेपाङ रहेको थियो।

यस्तै वडा नं. २ को वडाध्यक्षमा पंच बहादुर चेपाङ, वडासदस्यहरुमा माया गुरुङ, मैया विश्वकर्मा, बुद्धिमान गुरुङ र खिर बहादुर चेपाङ वडा नं. ६ को वडाध्यक्षमा भुपेन्द्र चेपाङ, वडासदस्यहरुमा पार्वती गुरुङ, परिमाया कामी, राम बहादुर घर्ती र कृष्ण बहादुर गुरुङ तात्कालिन स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए। जसमध्ये वडा नं. २ को वडासदस्य खिर बहादुर चेपाङको केहि समय अघि मृत्यु भैसकेको छ भने वडा नं. ६ का वडासदस्य कृष्ण बहादुर गुरुङ जिल्ला समन्वय समिति चितवनको सदस्यमा समेत निर्वाचित भएका थिए।
पार्टी विभाजन सँगै नयाँ पार्टी गठन भएपछि २१ दिन भित्रमा सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुले आफु कुन पार्टीमा रहने भनी रोज्न पाउने प्रावधान बमोजिम इच्छाकामनामा एमालेबाट निर्वाचित सबै प्रतिनिधिहरुले आफुहरुले नेकपा एमाले नै रोजेको घोषणा गरेको हो। केहि दिन अघि इच्छाकामना न्युजसँग कुराकानी गर्दै आफुहरु एमाले मै रहने सल्लाह भएको वडा नं. १ का वडाध्यक्ष नन्दलाल गिरीले बताएका थिए।
दान बहादुर गुरुङ, इन्चार्ज, नेकपा एमाले इच्छाकामना
यसैबिच नेकपा एमाले पार्टी विभाजनको देशव्यापी प्रभाव परे पनि चितवनको इच्छाकामना गाउँपालिकामा भने सिङ्गो पार्टी एक ढिक्का रहेको नेकपा एमाले इच्छाकामना गाउँकमिटिका इन्चार्ज दान बहादुर गुरुङले बताए। ‘हामी कोही पनि दायाँबायाँ लागेका छैनौ, सिङ्गो एमाले एक ढिक्का छौं’ –उनले भने।