धादिङ, १४ भदौ । धादिङको गजुरीमा मोबाइल तार जोड्ने क्रममा दुई जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा दुई मजदुरको ज्यान गएको हो ।
मोबाइल टावरको तार बिजुलीको पोलमा जडान गर्न भन्दै बिजुलीको पोलमा भर्याङ हालेका थिए । भर्याङ हाल्ने क्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले पनि घटना भएको पुष्टि गर्दै भने, ‘दुई जनाको मृत्यु भएको हो । हामी अहिले यहीँ छौँ । अहिले हामी काम गर्दैछौँ,’ उनले भने ।
स्थानीयबासीका अनुसार अर्का एक जना गम्भीर घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
स्थानीयका अनुसार पोलमा सर्ट भएको बिजुलीका कारण करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । केहीबेरमा विवरण आउने प्रहरीले जनाएको छ ।