कुरिनटार, १४ भदौ । माधव कुमार नेपालको अध्यक्षतामा एमाले फुटेर बनेको नवगठित नेकपा एकिकृत समाजवादी पार्टीको प्रभाव चितवनको इच्छाकामना गाउँपालिकामा भने अत्यन्तै न्युन परेको छ। नेकपा एस पार्टीले चितवनमा धमाधम संगठन विस्तार गर्न थालेपनि अहिलेसम्म उक्त पार्टीमा इच्छाकामनाका एमालेका कोहि पनि नेता कार्यकर्ता खुलेका छैनन्।
यसअघि नयाँ पार्टी गठन नहुदाँ एमालेको माधव नेपालका पक्षमा खुलेका केहि स्थानीय नेताहरु पनि नेपालको नेतृत्वमा नेकपा एकिकृत समाजवादी पार्टी गठन हुदाँ अहिलेसम्म खुलेका छैनन्। यसअघि माधव पक्षमा खुलेका एमाले इच्छाकामनाका उपाध्यक्ष जुना राजभण्डारी अहिले आफु कुनै पक्षमा पनि नखुलेको इच्छाकामना न्युजलाई बताए। ‘म अहिले कुनै पनि पक्षमा खुलेको छैन, हेर्दै जाउँ के हुन्छ’ –उनले भने।
यस्तै स्थानीय तहको निर्वाचनमा एमालेले जितेका ३ वटा वडाका वडाध्यक्ष सबै एमालेमै रहने भएका छन्। आफुहरुले सुर्य चिन्ह लिएर चुनाव जितेकाले ३ जना एमालेमै रहने सल्लाह भएको वडा नं. १ का वडाध्यक्ष नन्दलाल गिरीले जानकारी दिए।
त्यसो त तात्कालिन अवस्थामा माधव पक्षमा खुलेरै लागेका यसै क्षेत्र चितवनका सांसद कृष्णभक्त पोखरेल एमालेमै फर्केसँगै इच्छाकामनामा माधव पक्षको प्रभाव कमजोर देखिएको हुन सक्ने देखिन्छ। किनकी सांसद पोखरेलको यस क्षेत्रमा प्रभाव राम्रो रहेको मानिन्छ।