उषा तामाङ, काठमाडौं, १२ भदौ । काठमाण्डौ र ललितपुर महानगरसहित अन्य १६ वटा नगरपालिकाको फोहोर नुवाकोटको ओखरपौवा स्थित सिसडोलमा व्यवस्थित गरिंदै आएको छ । तर, हाल वर्षात्का कारण बाटो बिग्रिएपछि गाडी जान नसक्दा शहरको फोहोर उठ्न सकेको छैन । जसले गर्दा चोकचोक फोहोर थुप्रिएको छ भने दुर्गन्ध पनि बढेको छ ।
काठमाण्डौ महानगरपालिकाबाट ५ सय १७ टन र ललितपुर महानगरपालिका सहित आसपासका नगरबाट ५ सय ३७ टन फोहोर दैनिक उठ्ने गरेको थियो । तर, पछिल्लो डेढ महिनायता फोहोर उठेको छैन ।
नुवाकोटको सिसडोलमा २०६२ बाट २ वर्षका लागि फोहोर फ्याक्न सुरु गरिएको थियो । त्यसयता त्यहाँ निरन्तर फोहोर फाल्ने गरिएकोमा हाल सो क्षेत्र भरिएको छ । ठाउँको अभावमा सडकलाई फोहोरले ढाक्दै, फोहोरमाथि सडक बनेको छ । पानी परेपछि सोही सडकमा गाडी फस्ने भएकाले फोहोर उठाउन छोडिएको हो ।
२०६२ सालमै तीन वर्ष भित्र बञ्चरेडाँडामा फोहोर फाल्न व्यवस्थित ल्याण्डफिल साइट बनाउने भनिएको थियो । फोहोर व्यवस्थापन गर्न एक हजार ७ सय ९२ रोपनी जग्गा समेत अधिग्रहण गरिए पनि काम सकिएको छैन । हाललाई काठमाडौं महानगरले फोहोर व्यवस्थापनका लागि वैकल्पिक स्थानको खोजी गरिरहेको वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठ बताउनुहुन्छ । ललितपुर महानगर पनि विकल्पकै खोजिमा छ ।
लामो समयसम्म फोहोर नउठ्दा सङ्क्रामक रोग फैलन सक्ने सम्भावना बढेको चिकित्सकहरु बताउँछन् । फोहोर व्यवस्थापनकै विषयलाई लिएर पछिल्लो १६ वर्ष यता पटकपटक समस्या आएपनि दिर्घकालिन समाधान भने खोज्न सकिएको छैन ।