Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एनसेलबाट ग्राहकको झण्डै १ अर्ब ११ करोड रकम ठगी, ३ महिना भित्र फिर्ता गर्न प्राधिकरणको निर्देशन

एनसेलबाट ग्राहकको झण्डै १ अर्ब ११ करोड रकम ठगी, ३ महिना भित्र फिर्ता गर्न प्राधिकरणको निर्देशन

images

इच्छाकामना न्युज

४, भाद्र २०७८
एनसेलबाट ग्राहकको झण्डै १ अर्ब ११ करोड रकम ठगी, ३ महिना भित्र फिर्ता गर्न प्राधिकरणको निर्देशन
images

काठमाडाैं , ४ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो । बिनाजानकारी ग्राहकबाट विभिन्न प्याकमा उठाएको रु एक अर्ब ११ करोड २९ लाख ७६ हजार ८४९ बराबरको रकम तीन महिनाभित्र सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फिर्ता पठाउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार एनसेलले ग्राहकको मञ्जुरीबिनै गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सेवा तथा प्याकहरू अटो रिन्यू (नवीकरण) हुने गरी सञ्चालन गरेको र यसबाट आफूहरूसमेत ठगिन पुगेको भनी विभिन्न माध्यमबाट प्राधिकरणमा उपभोक्ताहरूले गुनासो गरेका थिए । सोही गुनासोका आधारमा प्राधिकरणले एक निरीक्षण समिति बनाएर अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा सोही गल्ती गरेको पाइएपछि ग्राहकबाट उठाएको रकम फिर्ता गर्न निर्देशन दिइएको हो । गेमलफ्ट नामको भ्यास सेवाअन्तर्गत तीन दिन रिन्यू र साप्ताहिक रिन्यूका प्याकहरू २०७५ असोज १५ गतेदेखि २०७७ सालको जेठ १८ गतेसम्म सो सेवा सञ्चालन गरी रु ११ करोड ३७ लाख ४८ हजार ९८६ बराबर आर्जन गरेको थियो । यस्तै, ह्वावे एप ग्यालरी नामबाट २०७५ असोज १५ गतेदेखि २०७७ साल जेठ १८ गतेसम्म अटो रिन्यू हुने गरी रु ९९ करोड ९२ लाख १८ हजार ८६३ आर्जन गरेको थियो ।

विसं २०७५ असोज १५ गतेको पत्रमार्फत सो कम्पनीबाट सञ्चालित भ्यासअन्तर्गतका सेवाहरू अटो रिन्यू हुने गरेको पाइएको भन्दै प्राधिकरणले सो सेवा तत्काल बन्द गर्न दिइएको निर्देशन किन पालना नगरेको र यसरी प्राधिकरणको निर्देशन पालना नगरेकाले दूरसञ्चार ऐनअनुसार किन कारबाही नगर्ने भनी पुनः २०७८ को असार १७ गते स्पष्टीकरण सोधेको थियो । यस्तैगरी प्राधिकरणले अटो रिन्यू उक्त कार्य दूरसञ्चार ऐन २०५३ विपरीत रहेको भन्दै कानुनबमोजिम रु ५० हजार जरिवानासमेत गरेको छ । विसं २०७७ जेठ १८ गतेदेखि हालसम्म प्रत्येक ग्राहकबाट के कति आय आर्जन भएको छ, सोको विवरण १५ दिनभित्र पेस गर्नसमेत निर्देशन दिएको छ ।

images
प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - २०:४८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology