चितवन, ३१ साउन । चितवनमा १० दिन निषेधाज्ञा लम्ब्याइएको छ । एक आदेश जारी गर्दै चितवनका सीडीओ प्रेमलाल लामिछानेले भोलि राति १२ बजेदेखि भदौ १० सम्म निषेधाज्ञालाई निरन्तरता दिएको उल्लेख गरेका छन् ।
आदेशमा सभा, सम्मेलन, प्रदर्शन, सेमिनार, तालिम, सिनेमा, पार्टी प्यालेसलगायत संचालनमा रोक लगाइएको छ । त्यस्तै बढी भिडभाड हुने प्रशासन, मालपोत, नापी, यातायात कार्यालयमा अत्यावश्यक तथा आन्तरिक कार्यबाहेकका नियमित सेवा स्थगित गरिएको छ ।
खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा-मासु, अण्डा, दाना, ग्यास, पूजा पसलहरू हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म संचालन गर्न पाइनेछ । तोकिएका अन्य पसलहरू आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ देखि साँझ ६ बजेसम्म खुल्न पाउने छन् ।
यसरी खुल्न पाउने पसलमा इलेक्ट्रोनिक, भाँडा, कपडा, फेन्सी, कस्मेटिक, सुनचाँदी, फर्निचर, जुत्ता चप्पल, टेलरिङ, पुस्तक पसललगायत छन् ।