गुल्मी । कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडकखण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन् । सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो झरिरहेका कारण पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।