देवराज सुवेदी, सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको चनौटेस्थित रातोपुल बाढिले बगाएको स्थानमा बेलिब्रिज बन्ने भएको छ ।
सिंहदरबारमा मङ्गलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिए अनुसार हिजो हेलम्बु पुगेको प्राविधिक सहितको टोलि उक्त स्थानमा बेलिब्रिज बनाउने भएको हो ।
परिषदका सदस्यसचिव एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदका कार्यकारी प्रमुख अनिल पोखरेलको नेतृत्वमा हेलम्बु पुगेको सडक विभाग नेपाली सेना सम्मिलित प्राविधिक टोलीले स्थानिय सरकारसँगको समन्वयमा गत असार १ र साउन १६गतेको बाढिले बगाएका पुल मध्ये अत्यावश्यक ठानिएको चनौटेस्थित रातोपुल बगाएको स्थानमा बेलिब्रिज तत्काल निर्माण प्रारम्भ गरिने बताइएको छ ।
पोखरेलले प्राविधिक टोलिको सर्वेक्षण अनुसार चनौटेको रातोपुल ४१ मिटर रहेकोमा पहिलेको भन्दा ४–५ मिटर अग्लो बनाएर ५० मिटरको बेलिब्रिज बनाउने तयारी गरिएको जानकारी दिनुभयो ।
प्राधिकरण, सडक विभाग र नेपाली सेनाले संयुक्त रुपमा काम गर्ने हुँदा निर्माणकार्य थालिएको १५ दिनभित्रमा उक्तपुल सम्पन्नहुने पनि पोखरलले बताउनुभयो । पुल नहुँदा हेलम्बुको १, २ र ३ नम्बर वडा पाँचपोखरी थाङपालको १ र २ नम्बर वडा र मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक यातायातबाट पुर्णरुपमा बञ्चित भएका छन् ।