काठमाण्डौ, ३० साउन । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुँदैछ। बिहान ११ बजे बस्ने बैठकमा पार्टी विधान संशोधन लगायका विषय पेश हुनेछ।
माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।
अध्यक्ष प्रचण्डले वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन पनि निर्देशन दिनुभएको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको छ।
यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ।