बुटवल, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । दिउँसो एक बजेर १० मिनेट जाँदा पोखरेलले प्रदेश प्रमुख शेरचनलाई राजीनामा बुझाउनुभएको थियो ।
तर उक्त पत्रको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो । अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो ।
त्यसपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो । सभामुख पूर्ण बहादुर घर्तीले पुनः प्रदेशसभाको दोस्रो बैठक सुरु गर्नुभएको थियो । बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाउनुभयो, योसँगै विशेष अधिवेशन सकिएको छ ।
संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शंकर पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । गठबन्धनबाट मुख्यमन्त्री पदका लागि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
विपक्षी गठबन्धनमा ४१ सांसद छन् । एमाले नेता पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।