धादिङ, ६ साउन । धादिङका यातायात ब्यवसायीहरुले भाडा वृद्धि गर्न नपाएको भन्दै सार्वजनिक यातायात बन्द गराएपछि नगरभित्र लोकल चल्ने साना यातायातले यात्रुसङ्ग दोब्बर भाडा असुल्न थालेको छ ।
ठूलो बस र माइक्रोबस नचलेको मौका छोप्दै धादिङबेसी-ससाह कालिदह हुँदै मलेखु आउजाउ गर्ने म्याजिक गाडीले दोब्बर भाडा असुलेको यात्रुहरुले गुनासो गरेका छन् ।
बुधबार साझ धादिङबेसीबाट ससाह चौतारो झरेका तल्लोबेसीका एक महिला यात्रुसङ्ग म्याजिक गाडीले ५० रुपैयाँ भाडा लियो, ती महिलाले भनिन् ‘अरु गाडी नचलेको मौका छोपेर म्याजिक गाडीले हामीसङ्ग दोब्बर भाडा लियो ।’ अन्य बेला म्याजिकले धादिङबेसी देखि ससाहको भाडा २५ रुपैयाँ हो ।
मलेखुबाट चडेर ससाह झरेका रोहित सुनारसङ्ग ना १ ज ७८७२ नम्बरको म्याजिक गाडीले एक सय रुपैयाँ असुल्यो । रोहितले भने,’एक सय रुपैयाँ नै चाहिन्छ नत्र हुन्न भनेपछि बाध्य भएर भाडा तिर्नु पर्यो ।’ मलेखुबाट ससाहसम्म साबिकको भाडादर ५० रुपैयाँ थियो ।
कालिदहबाट ससाह झरेकी अर्की महिलासङ्ग पनि ३० रुपैयाँ भाडा लिएको ती महिलाले बताइन् । कालिदहबाट ससाहको भाडा साबिकमा २० रुपैयाँ लिने गरेका थिए ।
मंगलबार धादिङका ६ वटै यातायात ब्यवसायीले एक बिज्ञप्ति निकालेर भाडादर वृद्धि नगरेसम्म सार्वजनिक यातायात नचलाउने धम्की दिएका थिए । तर, अन्य यातायात ब्यवसायीलाई नै समेत छलेर नगर यातायात प्रा.लि. मार्फत चल्ने म्याजिक गाडीले यात्रुसङ्ग दोब्बर भाडा उठाएको हो ।
यस्तो थियो यातायात ब्यवसायीको संयुक्त बिज्ञप्ति
