भुवन रायमाझी, पाल्पा, ५ साउन । सामान्यतया पानी खानको लागि प्रयोग गरिने एक प्रकारको भाँडो अर्थात करुवाको लागि पाल्पा प्रख्यात छ । पाल्पामा परम्परागतदेखि आधुनिक डिजाइन सम्मका करुवा बनाइन्छ । अहिले अन्य स्थानमा पनि आधुनिक तवरले करुवा बनाउन थालेपछि भने हातैबाट बनाइने कलायुक्त करुवा लोप हुँदै गएको छ । पाल्पालीकरुवालाई पाल्पाको पहिचानका रुपमा लिइन्छ ।
पानी खान, पुजा, चाडपर्व वा अन्य धार्मिक समाहरोहमा कलसको रुपमा पनि करुवालाइ प्रयोग गरिन्छ । कतिपयले करुवालाई सजावटका रुपमा पनि राख्ने गरेका छन् । करुवाका लागि प्रख्यात रहेको पाल्पामा हाल हाते करुवा पाइन छोडेको करुवा कालिगढ लेख बहादुर बिकको भनाइ छ । हस्त कलाकै रुपमा हाते प्रविधिबाट पाल्पाली करुवा उत्पादन गरिने हुँदा मेहनत बढी पर्ने र गुणस्तरिय पनि हुन्छ । पाल्पा पुगेका पर्यटकहरुको रोजाइमा करुवा पर्ने गरेको छ ।
करुवा व्यापारी ब्यापारी नित्यानन्द पोखरेल महँगो भएपनि पाल्पाली करुवा पर्यटकको रोजाइमा पर्ने बताउनुहुन्छ । तर, आधुनिक प्रविधि भित्रिएपछि पाल्पाका हाते करुवा उद्योगहरु भने सङ्कटमा पर्न थालेका छन् । आयातित र मेसिनबाट उत्पादित करुवाले बजार लिएपछि हाते करुवा उद्योग अफ्ठेरोमा परेका छन् । उद्योग वाणिज्य सङ्घ पाल्पाका अध्यक्ष राजु महर्जन पाल्पामा उत्पादित करुवालाई थप व्यवस्थित र कलात्मक बनाउनको लागि कच्चा पदार्थदेखि कालिगढलाई तालिम दिने सम्मको पहल गरिरहेको बताउनुहुन्छ ।
करुवा उत्पादन व्यवसाय मात्र नभइ कलाकारीता नै भएकाले नयाँ पुस्तालाई करुवा उत्पादन गर्ने उद्योगतर्फ आकर्षित गर्नको लागि आवश्यक ऋण, ठाँउ र बजार समेत उपलब्ध गराउने तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीको भनाइ छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा ४ वटा हाते करुवा उद्योग दर्ता भएपनि अहिले २ वटा मात्र सञ्चालनमा छन् ।
करुवाको लागि प्रख्यात पाल्पाको तानसेन नगरपालिका अगाडी टुडिखेलमा १ सय ४० किलोको करुवा राखिएको छ, जुन करुवा नेपालकै सबैभन्दा ठूलो करुवा हो ।