चितवन, १७ असार ।
चितवनसहित वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश–२ का विभिन्न ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ ।लगातारको वर्षासँगै नारायणी नदीमा बाढीको जोखिम बढेको छ ।
लमजुङको रैनासटार, तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, मकवानपुरको चिसापानी गढी र सिलिङ्गे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
आज दिनभर नै वाग्मती, गण्डकी, प्रदेश–१, प्रदेश–२ र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पर्सि शनिबार सम्म मध्यमदेखि भारी वर्षा कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा शनिबारसम्मै भारी वर्षा हुनेछ । भारी वर्षाका नदीको सतह बढ्ने, बाढीपहिरो आउनसक्ने सम्भावनासमेत रहेको भन्दै महाशाखाले सचेत गराएको छ ।