चितवन, १३ असार । जिल्ला प्रहरी कार्यालय चितवनले अवैध लागुऔषधको कारोबार गर्ने ३ जनालाई चितवनको विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा १ जना महिला र २ जना पुरुषहरु रहेका छन्।
प्रहरीका अनुसार प्रतिबन्धित लागू औषध गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा भरतपुर १७ लंगौटा बस्ने २९ वर्षिया विष्णुमाया थापा मगरलाई पक्राउ गरेको हो। पक्राउ परेका निजको घरकोठा खानतलासी गर्दा साना साना प्लाष्टिकमा प्याकिङ गरेको १० पोका (४ सय ग्राम) गाजा र गाजा बिक्रीबाट संकलन गरेको नगद १० हजार ४ सय रुपैयाँ समेत बरामद गरेको छ।
यस्तै प्रहरीले भरतपुर २ आपटारी इन्द्रेणीटोलबाट २ जनालाई प्रतिबन्धित लागु औषध बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सोहि स्थानका २४ वर्षका रोशन बुढाथोकी र २६ वर्षका योजन पोखरेल रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट डाईजेपाम २२ एम्पुल, फेनार्गन २३ एम्पुल र नुर्फिन १२ एम्पुल गरी जम्मा ५७ एम्पुल लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुर्य बहादुर थापाले जानकारी दिए। पक्राउ परेकाहरु सबैलाई अनुसन्धानका लागि म्याद थप गरि हिरासतमा राखिएको उनले बताए।