चितवन, ९ असार । चितवनमा निषेधाज्ञा एक हप्ता लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञालाई केहि खुकुलो बनाउँदै लम्ब्याएको हो । प्रशासनले असार १७ गते राति १२ बजेसम्मको लागि लागु हुने गरी निषेधाज्ञा थपेको हो ।
निजी सवारी साधनको सञ्चालनमा जोर विजोर प्रणाली लगाइएको छ भने हप्ताको तीन बार मात्रै केहि पसल सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा थपिएको छ ।
असार १० गते राति १२ बजेपछि जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधन सञ्चालन हुन पाउने छन् । यसरी सञ्चालन हुने निजी सवारी साधन सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु रहनेगरी सञ्चालन गर्न पाइने छ ।
अब भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सुनचाँदि, फर्निचर, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता चप्पल, टेलरिङ र प्रेस तथा फोटोकपी पसलहरु हप्ताको आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ४ बजेसमम्म मात्रै सञ्चालन हुन पाउने छन् ।
होटल रेष्टुरेन्ट तथा मिठाइ पसलले बेलुका ६ बजेसम्म मात्रै टेकअवे सेवा सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।


