आँबुखैरेनी, ३० जेठ । तनहुँको आँबुखैरेनी बजारमा संचालनमा रहेको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमित र गर्भवती महिलाहरुलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। संस्थाको आज बसेको संचालक समितिको बैठकले संस्थामा आवद्ध कुनै सदस्य कोरोना संक्रमित भएमा वा गर्भवती भै थप उपचार गर्नका लागि अस्पतालसम्म जान परेमा एम्बुलेन्स खर्च व्यहोर्ने भएको हो।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क एम्बुलेन्स व्यवस्था गर्न लागिएको संस्थाका अध्यक्ष रत्न कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार संस्थाका सेयर धनी सदस्य तथा परिवार र सेयर सदस्य (खाता वाला) सम्पुर्ण सदस्यहरु कोहीँ कसैलाई कोरोना भाइरस (कोभिड १९) पुष्टि भई उपचारको लागि अस्पताल लानुपरेमा एम्बुलेन्स भाडा बापत लाग्ने सम्पूर्ण खर्च संस्थाले व्यहोर्ने छ। यस्तै बच्चा पाउनको लागि गर्भवती महिलाहरुलाई अस्पताल नै लानु पर्ने भएमा पनि एम्बुलेन्स बापतको खर्च संस्थाले नै ब्यहोर्ने उनले बताए।
यो सुविधा आँबुखैरेनीबाट नारायणगढ, काठमाण्डौ वा पोखरा जहाँ लैजान परे पनि सदस्यको एम्बुलेन्स भाडा वापतको खर्च संस्थाले भुक्तानी गर्ने छ।