बिशालटार, १७ जेठ । धादिङको बेनिघाट रोराङ गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि संघिय सरकारबाट करिब ४६ करोड बजेट विनियोजन भएको छ। संघिय सरकारले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट अनुसार गाउँपालिकालाई ४५ करोड ९५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो।
प्राप्त विवरण अुनसार गाउँपालिकालाई समानीकरण अनुदानतर्फ न्युनतम अनुदान ३ करोड २५ लाख, सुत्रमा आधारित अनुदानमा १२ करोड ७३ लाख र कार्य सम्पादनको आधारमा ४९ लाख रुपैयाँ गरि १६ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ।
यस्तै सशर्त अनुदानतर्फ चालु खर्चको लागि २२ करोड ७६ लाख र पूँजीगत खर्चको लागि २ करोड ३ लाख रुपैयाँ गरि २४ करोड ७९ लाख रुपैयाँ विनियोजन भएको छ। यस वर्ष बेनिघाट रोराङ गाउँपालिकालाई विशेष अनुदान तर्फ समेत १ करोड ९१ लाख पूँजीगत बजेट विनियोजन भएको छ।
यसैगरी समपुरक अनुदान तर्फको लागि २ करोड ७८ लाख रुपैयाँ विनियोजन भएको छ। उल्लेखित बजेट अनुसार गाउँपालिकाले संघिय सरकारबाट आगामी वर्षका लागि चालु खर्च तर्फ ३९ करोड २३ लाख र पूँजीगत खर्च तर्फ ६ करोड ७२ लाख गरि ४५ करोड ९५ लाख रुपैयाँ बजेट बिनियोजन भएको देखिन्छ।
गाउँपालिकाले संघिय सरकारबाट चालु वर्ष पाएको र आगामी वर्ष पाउने बजेट अनुसार चालु वर्ष भन्दा आगामी वर्ष ४ करोड ९८ लाख रुपैयाँ बढि बजेट विनियोजन भएको छ। स्मरण रहोस् चालु वर्ष गाउँपालिकाले संभिय सरकारबाट ४० करोड ९७ लाख रुपैयाँ पाएको थियो।