कुरिनटार, १६ जेठ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनालाई आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि संघिय सरकारबाट झण्डै ३४ करोड बजेट विनियोजन भएको छ। संघिय सरकारले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट अनुसार इच्छाकामना गाउँपालिकालाई ३५ करोड ९७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो।
प्राप्त विवरण अुनसार गाउँपालिकालाई समानीकरण अनुदानतर्फ न्युनतम अनुदान ३ करोड ७५ लाख, सुत्रमा आधारित अनुदानमा ७ करोड ६ लाख र कार्य सम्पादनको आधारमा ४९ लाख रुपैयाँ गरि १० करोड ५५ लाख रुपैयाँ विनियोजन भएको छ।

यस्तै सशर्त अनुदानतर्फ चालु खर्चको लागि २१ करोड ६१ लाख र पूँजीगत खर्चको लागि २ करोड १५ लाख रुपैयाँ गरि २३ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको छ।
यसैगरी विशेष अनुदान तर्फ पूँजीगत खर्चको लागि १ करोड ६६ लाख रुपैयाँ विनियोजन भएको छ। उल्लेखित बजेट अनुसार गाउँपालिकाले संघिय सरकारबाट आगामी वर्षका लागि चालु खर्च तर्फ ३२ करोड १६ लाख र पूँजीगत खर्च तर्फ ३ करोड ८१ लाख गरि ३५ करोड ९७ लाख रुपैयाँ बजेट बिनियोजन भएको देखिन्छ।
गाउँपालिकाले संघिय सरकारबाट चालु वर्ष पाएको र आगामी वर्ष पाउने बजेट अनुसार चालु वर्ष भन्दा आगामी वर्ष ४ करोड ९६ लाख रुपैयाँ बढि बजेट विनियोजन भएको छ। स्मरण रहोस् चालु वर्ष गाउँपालिकाले संभिय सरकारबाट ३१ करोड १ लाख रुपैयाँ पाएको थियो।